दोहोरो छात्रवृति नदिन परेको निवेदननै मन्त्रालयले लुकायो

दोहोरो छात्रवृति नदिन परेको निवेदननै मन्त्रालयले लुकायो

धनगढी । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एमविविएस छात्रवृतिमा चिकित्सा शिक्षा आयोगमा छात्रवृति प्राप्त गरेका भिमबहादुर बोहरालाई छनौट गरेको छ ।

बोहराविरुद्ध दोहोरो छात्रवृति प्रदान गरिएको निवेदन नहेरी मन्त्रालयले उनलाई छनौट गरेको हो । ‘नेपाल सरकार वा अन्य कुनै पनि निकायबाट छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीको नाम उक्त सूचीबाट हटाई नयाँ योग्यताक्रम सूची निर्धारण गरिनेछ’ भन्ने व्यवस्थाविपरित मन्त्रालयले छनौट गरेको जनाइएको छ ।

चिकित्सा शिक्षा आयोगले छात्रवृत्तितर्फको म्याचिङ गर्ने कार्य सकिसके पछि मन्त्रालयले तयार पारेको म्याचिङ्गमा चिकित्सा शिक्षा आयोगबाट छात्रवृति प्रदान गरेका व्यक्तिको नाम समावेश गरेको पाइएको छ । आयोगका सूचना अधिकारी सरिता कुमारी खतिवडाले भनिन –‘आयोगको म्याचिङ्गमा परेका व्यक्तिलाई अन्य निकायले दोस्रो छात्रवृतिका लागि छनौट गर्न पाइदैन् ।’ उनका अनुसार आयोगमा म्याचिङ्ग भइसकेका व्यक्तिलाई अन्य निकायले छनौट गर्दा अरु योग्य मानिस त्यो अवसरबाट वञ्चित हुन्छन् ।

आयोगले छनौट गरेका बोहराविरुद्ध दोहोरो छात्रवृतिमा छनौट भएको भन्दै परेको निवेदनप्रति मन्त्रालयले कुनै सुनवाई नगरेको जनाएको छ । ‘बोहरा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छात्रवृतिका लागि चिकित्सा शिक्षा आयोगबाट छनौट भएका छन् । तर, त्यसलाई प्राथमिकता नदिई मन्त्रालयमा आवेदन पेश गरे । सो छनौट खारेज गरि पाउँ’ उक्त निवेदनमा भनिएको छ ।

चिकित्सा शिक्षा आयोगमा शहिद तथा वेपत्ता कोटामा एमविविएस छात्रवृतिमा छनौट भएका डडेल्धुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ का बोहरालाइ एमविविएस छात्रवृतिमा मन्त्रालयले छनौट गरेको छ । मन्त्रालयले बोहरालाई खुल्लातर्फ पाँच जनामा समावेश गरेको छ । मन्त्रालयमा अभिभावकले गुनासो गर्दा समेत कुनै सुनुवाई नभएको एक अभिभावकको गुनासो रहेको छ । ती अभिभावकले भने –‘मेरो छोरा योग्य हुँदा समेत मन्त्रालयले गठन गरेको छनौट समितिले छात्रवृति नपाउने गरि निर्णय गर्यो ।’

मन्त्रालय छनौट समितिका सदस्य तथा उच्च शिक्षा शाखा अधिकृत गोपालदत्त जोशीले मन्त्रालयले छात्रवृति तर्फको नामावली टुङ्गो लगाइसकेको बताए । उनले भने –‘चिकित्सा शिक्षा आयोगमा छनौटमा परेका व्यक्तिहरुबारे जानकारी दिन सात दिने सूचना जारी गरेका थियौं । त्यसक्रममा कसैको गुनासो आएन् । दुई निकायमा एक व्यक्ति छनौट भएकोबारे मलाई जानकारी छैन् ।’

मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंहले भने दोहोरो छात्रवृति प्रदान नगरिएको दाबी गरे । उनले भने –‘तपाइको समाचार पढे । त्यसरी लेख्दा अलिकति अविश्वशनिय भयो । हामीले दोहोरो छात्रवृति प्रदान गरेको होइन् । उहाँ आयोगबाट म्याचिङ्गमा परेका हुन । छात्रवृति पाएका छैनन् ।’ 

मन्त्रालयलेनै आयोगमा म्याचिङ्गमा नपरेका व्यक्तिलाई छात्रवृति प्रदान गर्ने उल्लेख गरेको भएपनि म्याचिङ्गमै परेका व्यक्तिलाई मन्त्रालयले छात्रवृति प्रदान गरेको उनको स्वीकार छ । 

उच्च शिक्षा शाखा अधिकृत जोशीले चिकित्सा शिक्षा आयोगमा छनौटमा परि मन्त्रालयको छात्रवृतिमा पनि समावेश भएको पाइए पुनरावलोकन गरिने बताए । उनले भने –‘दुई निकायबाट एक व्यक्तिले छात्रवृति लिन पाउँदैन । यदि त्यसो भएको भए सो व्यक्तिको छात्रवृति मन्त्रालयले रद्द गर्ने छ ।’

सामाजिक विकास मन्त्रालयले एमविविएस अध्ययन छात्रवृतितर्फका लागि मंसिर ५ गते आवेदन माग गरेको थियो । खुंल्लातर्फ पाँच, महिला, दलित, थारु, राना थारु र आर्थिक रुपले विपन्न वर्गका लागि एक–एक पद गरि नौ सिटका लागि आवेदन माग गरेको थियो । सो क्रममा एमविविएस अध्ययन छात्रवृतिका लागि दुई सय पाँच जनाको आवेदन पेश भएको थियो ।

मन्त्रालयले पुस २० गते जारी गरेको सूचनामा भनिएको छ –‘नेपाल सरकार वा अन्य कुनै पनि निकायबाट प्रदान गरिएको छात्रवृत्ति प्राप्त गरि भर्ना नलिई प्रदेशको छात्रवृत्तिमा भर्ना भएको पाइएमा त्यस्तो विद्यार्थीको छात्रवृत्ति रद्द भैजाने व्यहोरा सम्बन्धित सबैको लागि निर्णयानुसार यो सूचना प्रकासित गरिएको छ ।’

मन्त्रालयले प्रति विद्यार्थी प्रति वर्ष १० लाख रूपैयाँका दरले ५ वर्षसम्म निरन्तर उक्त रकम प्रदान गरिनेछ ।
प्रदेशमा चिकित्सकहरु बस्न नचाहने र दुर्गम क्षेत्रमा कार्य गर्न नमान्ने समस्यालाई ध्यानमा राख्दै सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि यो कार्यक्रम सुरु गरेको हो । तर, योग्यताभन्दा पनि यस कार्यक्रममा पहुँचवालाहरुले लाभ लिइरहेको जनगुनासो रहेको छ ।