दैजी औद्योगिक क्षेत्र स्थापना गर्न स्थानीय सहमत

दैजी औद्योगिक क्षेत्र स्थापना गर्न स्थानीय सहमत

कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिकास्थित छेला औद्योगिक क्षेत्रको काम अगाडी बढाउन स्थानीय सहमत भएका छन् । मंगलवार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडी बढाउन सहमती जनाएका हुन् ।

वर्षौं अघिको सपना पुरा हुन लागेकोमा स्थानीय हर्षित छन् । वि.सं.२०५१ सालमा छेला औद्योगिक क्षेत्रका स्थापना गरिएको थियो । सार्वजनिक सुनवाई कार्यक्रममा स्थानीय बिरेन्द्र भट्टले सुदूरपश्चिमकै गौरवको रुपमा रहेको छेला औद्योगिक क्षेत्र प्रदेशकै समृद्धिसँग जोडिएकाले यसको तत्काल कार्य शुरु गर्नुपर्ने बताए ।

त्यस्तै अर्का स्थानीय सागर सुनारले छेला औद्योगिक क्षेत्र बन्न लागेकोमा खुसि व्यक्त गर्दै यसलाई तत्काल सञचालनमा माग गरे भने महादेव भट्टले पनि औद्योगिक क्षेत्र तत्काल सञ्चालन गरि उद्योगमा स्थानीयलाई प्राथमीकता दिनु पर्ने बताए । उनले उद्योगलाई आवश्यक जनशक्ति व्यवस्थापन बाह्य नभई आन्तरिक स्रोत साधनबाट परिचालन गर्न पनि सुझाव दिए ।

उद्योगबाट उत्पन्न हुने कार्बन लगायत हानिकारक ग्यास र फोहरमैला व्यवस्थापनका लागि छुट्टै कार्यक्रम सञ्चालन गरिनु पर्ने स्थानीय बिमल सिंहको भनाइ छ । कार्यक्रममा जिल्लास्थित विभिन्न राजनीतिक दल, संघ संस्था लगायत सरोकारवाला निकायको सहभागीता थियो ।