एक महिनादेखि बन्द धनगढी विमानस्थल आजदेखि संचालनमा आउने

एक महिनादेखि बन्द धनगढी विमानस्थल आजदेखि संचालनमा आउने

धनगढी- एक महिना लामो समयदेखि बन्द रहेको धनगढी विमानस्थल बुधबारदेखि संचालनमा आउने भएको छ। 

धनगढी विमानस्थलको धावनमार्ग मर्मतको काम गर्न भन्दै एक महिनादेखि विमानस्थल बन्द रहेको थियो। मर्मतको काम ५० प्रतिशत सम्पन्न भइसकेको विमानस्थल कार्यालयले जानकारी दिएको छ। 

‘विमान उडान भर्न र चल्न सक्ने अवस्था भइसकेको छ,' विमानस्थलका प्रमुख तेजबहादुर बुढ थापाले भने, 'बाँकी काम उडानलाई प्रभाव नपार्ने गरि हुने छ।’ 

उनका अनुसार यो महिनाको अन्तसम्ममा एयरलायन्स कम्पनीहरुले आ–आफनो समय तालिका अनुसार भर्ने छन्। ‘असार १ गतेदेखि विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मात्र विमानहरुले उडान भर्ने छन्। अन्य समयमा बाँकी रहेको मर्मत कार्य हुने छ,' उनले भने। 

जमिनको बनावटका कारण काम बढी गर्नुपरेको र एक महिनासम्म पनि धनगढी–खुटीया खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाईएकाले निर्धारित समय भित्रै स्तर वृद्धिको कार्य सम्पन्न हुन सकेको थिएन। 

धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। अब धावनमार्गमा थप कालोपत्रे हुँदै छ भने जीर्ण बनेको क्षेत्रमा मर्मत भईरहेको छ। दुवैतर्फ २–२ मिटर धावनमार्ग फराकिलो बनाउने कार्य पनि जारी छ।