चलचित्र काँडेतारको च्यारिटी सो धनगढीमा प्रदर्शन

चलचित्र काँडेतारको च्यारिटी सो धनगढीमा प्रदर्शन

धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा शनिवार प्रदर्शन गरिएको छ ।

सीमा रक्षाकोे क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका शहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ सो चलचित्रको च्यारिटी सो देखाइएको हो ।

एसटीएस सिनेमा हलमा प्रदेश सभा सदस्य, कैलालीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी, सर्वसाधारणले एकसाथ च्यारिटी सो हेरेका छन् । 

चलचित्र काँडेतारले नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको नेपालीमाथि अत्याचार र नेपाली भूमिमाथि भइरहेको हस्तक्षेप उजागर गर्दै भारतीय विस्तारवादविरुद्ध जुर्मुराउनु पर्ने सन्देश दिएको छ । नेपाली भूमि र सीमा क्षेत्रमा बस्ने नेपालीको सुरक्षाका लागि सिमानामा काँडेतार लगाउनु पर्ने चलचित्र काँडेतारको जोड छ । सो चलचित्रमा कैलालीको मोहना नदी पारी रहेको सीमावर्ती नेपाली गाउँ हौसलपुर, शिवरत्नपुर, मोहनपुरको समस्यादेखि लिएर सीमा सुरक्षा गर्नेक्रममा कञ्चनपुरको पुनर्वासका गोविन्द गौतमले ज्यान गुमाउनु परेको घटनालाई समेत उजागर गरिएको छ । 

सो चलचित्र हेरिसकेपछि दर्शकले राष्ट्रप्रेम झल्काउने चलचित्र काँडेतार असाध्यै राम्रो रहेको र यसलाई सबै नेपालीले हेर्नु पर्ने सुझाव दिएका छन् । यो चलचित्रले नेपाल–भारत सीमा क्षेत्रमा भइरहेको वास्तविक घटनालाई उजागर गरेर आफ्नो भूमि रक्षाका लागि अगाडि बढ्न सबैलाई झकझक्याएको प्रदेश सभा सदस्य सन्तोषकुमारी शर्मा थापाले बताए । 

चलचित्र च्यारिटी सोको क्रममा नेपाल–भारत सीमा क्षेत्रमा काँडेतार लगाउने अभियानमा समर्थन जनाउँदै दर्शकले हस्ताक्षरसमेत गरेका छन् । नेपाली भूमि सुरक्षाका लागि काँडेतार लगाउने कुरालाई सम्पूर्ण नेपालीले अभियानकै रुपमा अगाडि बढाउनु पर्ने चलचित्रका निर्माता एवम् नायक नवल खड्काले बताए ।

उनले आगामी फागुन २५ गतेबाट देशैभर यो चलचित्र प्रदर्शनमा आउने भन्दै चलचित्र हेरिदिन आग्रह गरे ।