सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको बदमासीः फोहोर उपकरण जडित अस्पतालमा सोही कार्यक्रम

सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको बदमासीः फोहोर उपकरण जडित अस्पतालमा सोही कार्यक्रम

धनगढी । गत वर्षको कार्तिकदेखि कैलालीको टीकापुर अस्पतालमा अटोक्लेभ मेसिन (फोहोरमैला व्यवस्थापन उपकरण) सञ्चालनमा छ । तर, सुदूरपश्चिम प्रदेश सरकारले सोही उपकरण यस वर्ष सो अस्पतालका लागि खरिद कार्य थालेको छ ।

टीकापुरमा फोहोर निर्मलीकरण गर्नका लागि गैरसरकारी संस्था कोइकाले झण्डै आठ वर्षअघि एउटा एक शय ५२ लिटर क्षमताको अटोक्लेभ मेसिन अस्पताललाई दिएको थियो । विश्व स्वास्थ्य संगठनबाट थप अर्को २ शय लिटर क्षमताको अटोक्लेभ मेसिन ल्याएर फोहोरबाट मोहर बनाउन थालिएको छ ।

‘दुई महिनादेखि हामीले अटोक्लेभ मेसिन जडान गरेर फोहोरको वर्गीकरण गर्ने, निर्मलीकरण गरेर जम्मा गरेका छौं’ अध्यक्ष झपटबहादुर सोडारीले भने ‘अहिले प्रदेश सरकारले हामीलाई आवश्यक नहुने उपकरण उपलब्ध गराउने तयारी गरेको छ ।’

टीकापुरमात्र नभई महाकाली प्रादेशिक अस्पतालमा पनि गत वर्षनै फोहोरमैला व्यवस्थापन उपकरण जडान भई फोहोरको व्यवस्थापन गरिरहेको छ । तर, मन्त्रालयको चालु आर्थिक वर्षमा सोही अस्पतालका सो उपकरण खरिद गर्ने भन्दै बजेट विनियोजन भएको छ ।

आपूर्ति व्यवस्थापन केन्द्र धनगढीका प्रमुख निरज अर्यालले भने –‘यस वर्ष बजेटमै अस्पतालको नाम किटान गरि फोहोरमैला व्यवस्थापन उपकरण खरिद गर्ने भनेर उल्लेख छ ।’ उनका अनुसार महाकाली प्रादेशिक अस्पताल, टीकापुर, बैतडी र बझाङ जिल्ला अस्पतालका लागि ती सामाग्री खरिद गरिन लागेको छ । उनले भने –‘बोलपत्र आह्वान भई प्राविधिक मूल्यांकन भइसकेको छ । यसको ठेक्का काठमाडौंको बानेश्वरमा रहेको एमएस लाइभलाइन ट्रेड इन्टरनेश्नल प्राइभेट लिमिटेडले पाएको छ ।

मन्त्रालयले ती उपकरण खरिद गर्न नौ करोड बढी रकम विनियोजन भएकोमा सो कम्पनिले सात करोड ३१ लाख ७२ हजारमा ठेक्का सम्झौता पाएको छ ।

प्रमुख अर्यालले भने –‘यदि कुनै अस्पतालले आवश्यक छैन भनेर पत्र पठाएमा त्यसको ठाउँमा मन्त्रालयको अनुरोधमा अन्य अस्पतालमा ती उपकरणहरु जडान गरिने छन् ।’

सामाजिक विकास समितिमा उजुरी

सुदूरपश्चिम प्रदेशको संसदीय समिति सामाजिक विकासमा सो उपकरण खरिदबारे उजुरी परेपछि समितिले छानविन शुरु गरेको छ ।

सामाजिक समितिका सदस्य तथा प्रदेश सभा सदस्य प्रकाश बमले अस्पतालमा आवश्यक नपरेको उपकरण खरिद गर्नु उपयूक्त नदेखिएको बताए । उनले भने –‘अस्पतालमा जुन उपकरण छदै छ र आफुलाई चाहिएको छैन भन्दा पनि किन जोडतोड भइरहेको छ ।’

उनले समितिले छानविन गरिरहेकै समयमा केन्द्रले ठेक्का सम्झौता गर्न नहुने बताए । ‘हाम्रो समितिले त्यस विषयमा छानविन गरिरहेको छ । तर, आपूर्ति व्यवस्थापन केन्द्रले यसै बिचमा ठेक्का सम्झौता किन गर्नुपरेको होला ।’

आर्थिक अनियमितता भएको आरोप

आपूर्ति व्यवस्थापन केन्द्रले चार वटा अस्पतालका लागि खरिद गर्न लागेको फोहोर मैला व्यवस्थापन उपकरणमा आर्थिक अनियमितता भएको उनको आरोप छ । प्रदेश सभाको तेस्रो अधिवेशनको छैठौं बैठकमा भने –‘चार वटा मेसिन खरिद गर्न लागेको छ । बजारमा बुझ्दा नौ करोडमा एक मेसिनको ४० हजार डलर अर्थात ५१ लाखदेखि ५२ लाख पर्छ । चार वटा खरिद गर्दा लगभग दुई करोड हुन्छ तर, यहाँ नौ करोडमा बोलपत्र भएको छ ।’

उनले यसभित्र ठुलो घोटाला भएको र लेखा समितिले पनि चासो लिएकोले प्रदेश सरकारले पनि यस विषयमा छानविन गर्नुपर्ने बताए ।

उनले भने –‘उपकरण खरिदका लागि छ वटा टेण्डर पर्छन । पाँच वटाको कागजपत्र नमिलेको भन्दै फालिन्छ र एक जनाले सोझै ठेक्का सम्झौता पाउने गरि काम गरिएको छ । यसमा मिलोमतो पनि देखिन्छ ।’ ठेक्का सम्झौता ३ प्रतिशत विलोमा भएको उनको भनाई छ ।

केन्द्रका प्रमुख अर्यालले अन्तराष्ट्रिय मापदण्ड अनुसारनै लागत अनुमान गरि बोलपत्र आह्वान गरिएको बताए । उनले भने –‘एक उपकरणमा दुई करोडदेखि दुई करोड ५० लाखसम्म लागत रहन्छ । तर, प्रदेश सभाका सदस्यहरुले कुन आधारमा ५० लाख भने थाहा भएन । एक उपकरणमा दुई करोड भनेका हुनकी चारवटै त्यो पनि बुझ्न सकिएको छैन् ।’