‘ऊनको स्वीटर’बाट विपिन र मिरुनाको लुक्स सार्वजनिक

‘ऊनको स्वीटर’बाट विपिन र मिरुनाको लुक्स सार्वजनिक

काठमाडौं । नवीन चौहानको निर्देशनमा निर्माण हुन लागेको पहिलो सिनेमा ‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पुरानो ‘टेक्स्चर’मा तयार पारिएको पोस्टरमा विपिन कार्की र मिरुना मगर चित्रित छन् ।

पोस्टरमा विपिन उभिएका छन् भने मिरुना कुर्सीमा बसेकी छन् । ८०/९० को दशकतिरको फोटो खिच्ने ट्रेन्डलाई पोस्टरले प्रतिबिम्बित गर्छ । ऊनको स्वीटर लगाएका विपिन हँसमुख भावमा भलाद्मी देखिएका छन् । सर्लक्क कोरिएको कपाल र हल्का जुँगामा उनको लुक्स आकर्षक देखिएको छ ।

पोस्टरमा मिरुना भने मगर पहिरनमा छिन् । उनको अगाडिको कपालले निधार छोपेको छ । पोस्टरले विपिन र मिरुना श्रीमान–श्रीमतीको भूमिकामा हुने संकेत मात्र गर्दैन, अन्तरजातीय प्रेमकथामा आधारित भएर सिनेमा बन्न लागेको पनि प्रस्ट्याउँछ ।

आगामी वैशाखबाट छायांकनको तयारी गरिएको सिनेमामा विपिन र मिरुनाका अलवा माओत्से गुरुङ, एलेक्स विश्वकर्मा ९पारस०, परीक्षा लिम्बु, अनिल सुब्बा, सुरज तमु, मिलन खत्री, अरुण पुन मगर लगायतको पनि अभिनय रहनेछ । सुजन चापागाईं र कोविद बज्रको संगीत रहने सिनेमालाई चिन्तनराज भण्डारीले खिच्नेछन् ।

सिनेमाको कथा निर्देशक चौहानको नै लेखन छ । आर्टमान्डुले सिनेमाको निर्माण गर्नेछ । निर्देशक चौहानले आर्टमान्डुमार्फत ‘तीनपाते’, ‘घुमीघुमी’, ‘फूलथुंगे रानी’, ‘सुनाखरी’, ‘के माया लाग्छ र’, ‘बटौली’ लगायतका गीतको म्यूजिक भिडियो निर्माण गरिसकेका छन् ।