जनप्रिय माध्यमिक विद्यालयका शिक्षकले पारिश्रमिक नपाएपछि समस्या

जनप्रिय माध्यमिक विद्यालयका शिक्षकले पारिश्रमिक नपाएपछि समस्या

धनगढी । गौरीगङ्गा नगरपालिका ८ लिक्मा रहेको जनप्रिय माध्यमिक विद्यालयका शिक्षकले विगत चार महिनादेखी पारिश्रमिक पाएका छैनन् ।

विद्यालयमा प्रधानाध्यापक नहुँदा विद्यालयको खाता खुलेको छैन जसका कारण उनीहरूले कार्तिकदेखी माघ सम्मको पारिश्रमिक पाएका छैनन् । केही दिन अघि यहाँका ३३ जन शिक्षक र कर्मचारीले पारिश्रमिकको माग गर्दै आन्दोलन समेत सुरु गरेका थिए ।

३३ जना शिक्षक कर्मचारीहरूले कार्तिक देखी पौष महिना सम्मको तलब भत्ता एक महिना अघि नै खातामा निकासा गरिसकेको तर, विद्यालयले तलब भत्ता उपलब्ध नगराएर काम गराइरहेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

उनीहरूले २२ गते सम्म तलब उपलब्ध गराउन माग गरेका थिए नभए आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए । त्यसपछि विद्यालयका पहिलो घण्टी नपडाएर आन्दोलन गरेका शिक्षकहरूले अहिले सम्म पनि आफ्नो पारिश्रमिक पाएका छैनन् ।

‘हामीले चार महिना देखी पारिश्रमिक पाएका छैनौँ’ शिक्षक जङ्गबहादुर देउवाले भने ‘रकम विद्यालयको खातामा आएको छ हामीले पाएका छैनौँ ।’

चार महिना देखी पारिश्रमिक नपाएका यहाँका शिक्षक तथा कर्मचारीहरूले अझै केही समय पारिश्रमिक नपाउने देखिएको छ ।

अघिल्लो वर्ष सम्म प्रधानाध्यापकको जिम्मेवारीमा रहेका धनिदत्त भट्टलाई आफ्नै कर्मचारीसँग ३० हजार घुस लिएको आरोप लाग्यो । त्यसपछि जयबहादुर बयलकोटीले प्रअको जिम्मेवारी पाए भट्टलाई गौरीगङ्गा वडा नम्बर १ स्थित पशुपति माविमा खटाइयो ।

त्यहाँ शिक्षकको रूपमा केही समय काम गरे । फेरि उनी जनप्रियमै आए । उनको आगमन पछि विद्यालयका प्रधानाध्यापक बयलकोटी र उनी बिच शक्ति संघर्ष सुरु भयो । दशैको आसपासमा बयलकोटीले आफू प्रधानाध्यापकको जिम्मेवारीमा नरहने भन्दै राजीनामा दिए । उनको राजीनामा स्वीकृत भएपछि अहिले विद्यालय प्रअ विहीन छ ।

त्यसको केही समयपछि फेरि विद्यालय व्यवस्थापन समितिले प्रअको लागि भन्दै जगदीश ओझाको नाम गौरीगङ्गा नगरपालिकामा सिफारिस गरेको थियो । सिनिअर शिक्षक हुँदा हुँदै जुनिअरलाई निमित्त बनाउन सिफारिस गरेको भन्दै नगरपालिकाले ओझालाई स्वीकार गरेन । ओझा भन्दा माथिल्लो तहमा दीपेन्द्र खड्का थिए । तर, दीपेन्द्र स्थानीय नभएको भन्दै ओझालाई अगाडी सारियो । त्यो पुरा भएन । त्यसपछि आन्तरिक रूपमा प्रअ नियुक्त गर्ने सम्भावना ट¥यो । विद्यालय व्यवस्थापन समितिले प्रअको लागि खुल्ला विज्ञापन आह्वान ग¥यो । विज्ञापन भएको एक महिना सम्म पनि विद्यालयले प्रअ पाउन सकेन ।