‘रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को औपचारिक घोषणा

‘रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को औपचारिक घोषणा

काठमाडौैं । कविताबारेको टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ को औपचारिक घोषणा भएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो शो आगामी सोमबारदेखि प्रसारण हुने जानकारी दिइयो ।

जसअनुसार हिमालय टिभीमा यो कार्यक्रम प्रत्येक सोमबार र मंगलबार राती ९ बजेदेखि प्रसारण हुनेछ । उक्त प्रेसमिटमा शोका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले विभिन्न प्रायोजकसँग लिखित सम्झौता गरे । वात्सल्य नेचुरल शीर्ष प्रायोजकको रुपमा रहने भएको छ ।


यो पत्रकार सम्मेलन शोकी जज तथा अभिनेत्री केकी अधिकारी प्रेरित रह्यो । अभिनेत्री अधिकारीलाई कविता रियालिटी शोको निर्णायक बनाइएको बारे सामाजिक संजालमा भएका टिप्पणीबारे संचारकर्मीले प्रश्न सोधेका थिए । जसमा केकी र निर्देशक अधिकारीले आलोचनाको खण्डन प्रयत्न गरे ।


केकीले फिल्म अभिनेत्रीको रुपमा कला र साहित्यप्रति आफ्नो पनि जिम्मेवारी हुने बताइन् । उनले सबैको धारणालाई सम्मान गर्ने बताइन् । ‘जे हुन्छ राम्रैको लागि हुन्छ । म सबैको विचारलाई सम्मान गर्छु । म कला क्षेत्रमा किन छु भन्दा, यहाँ आफूलाई लागेको कुरा मजाले अभिव्यक्त गर्न सकिन्छ । म ओपनियनलाई एकदमै शिरोधार्य गर्न सक्ने व्यक्ति पनि हुँ । सायद अभिनयसँग सम्बन्धित रियालिटी शो आउँदै गरेको भए हामीले मध्ये कसैले त्यो प्रश्न राख्थ्यो कि’ उनले भनिन् ।

उनले साहित्यप्रतिको आफ्नो जिम्मेवारीबारे कुरा गरिन् । ‘यो रियालिटी शोलाई विभिन्न कुराको विश्लेषण गर्न सक्ने व्यक्ति चाहिएको कारणले हो भनेपछि मैले थप गर्न जरुरी भएन । मैले चलचित्रमा अभिनेत्रीको रुपमा काम गरिरहेकी छु जसले गर्दा कला साहित्यप्रति मेरो पनि जिम्मेवारी छ’ भन्छिन्, ‘दर्शकलाई साहित्यपान गराउन सके मैले त्यो सन्तुष्टि महसुस गर्नेछु । एकदम खुशि छु जसले आफ्नो धारणा राख्नुभयो । सुझाव पाइराखौं ।’

निर्देशक अधिकारीले केकीलाई अब्बल नायिकाको रुपमा प्रशंसा गर्दै उनले पोएट आइडललाई न्याय गर्न सक्ने बताए । यो शो लेखनमा मात्र आधारित नरहेको अमनको भनाई थियो । उनले भने, ‘केकी अब्बल नायिका हुन् । हामी केकीले गर्ने क्यारेक्टर र अभिनयबाट तानिएका हौं । हामीलाई विश्वास छ, उनले गर्न सक्छिन् । काममा न्याय गर्न सकिछन् । पोएट आइडल लेखनमात्र होइन । यो मिश्रित रियालिटी शो हो ।’

उनले दोस्रो सिजनमा कूल एपिसोड संख्या ३० हुने जनाए । ‘पछिल्लो सिजनमा ३३ एपिसोड बनाउँदाको महसुस गर्दा अडिसन राउण्ड लामो भएछ । अडिसन राउण्ड ६ बाट कटाएर ३ मा ल्याएका छौं । अब ३० एपिसोड हुन्छ । यो प्रमुख चेन्ज हो । यसबाहेक चेन्ज हुँदैन’ उनले फम्र्याटबारे भने ।

उक्त अवसरमा जज तथा कवि विप्लव प्रतीकको जन्मदिन पनि सेलिब्रेट गरिएको थियो । सिजन २ लाई अभिनेता समेत रहेका दिव्यदेवले होस्ट गर्नेछन् । जजमा उपेन्द्र सुब्बा र अनुप बराल पनि हुनेछन् ।