नेपालको वुमन्स प्रिमियर कप क्रिकेटमा विजयी सुरुवात

नेपालको वुमन्स प्रिमियर कप क्रिकेटमा विजयी सुरुवात

नेपालले वुमन्स प्रिमियर कप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले शनिबार हङकङलाई ८ विकेटले पराजित गरेको हो ।

९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।  कविता कुँवर १२ बल खेली ४ रनमात्र बनाई आउट भए पनि सीता रानामगर र कप्तान इन्दु बर्माले दोस्रो विकेटमा ७६ रनको साझेदारि गरेपछि नेपालले आरामदायी विजय हात पारेको हो ।

कप्तान इन्दुले ३३ बल खेली ३ चौका र १ छक्का प्रहा गर्दै ४० रन बनाइन् । नेपाल विजयभन्दा ७ रनले टाढा भएको समयमा इन्दु आउट भएकी थिइन् ।

सीता रानामगरले अविजित ३६ रन बनाई अविजित रहिन् । विजयी चौका प्रहार गरेकी सीताले ३८ बलको इनिङ्समा १ छक्का पनि प्रहार गरकी थिइन् । यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभर खेलि ८ विकेट गुमाई ९३ रनमात्र बनाउन सकेको थियो ।

क्वालालम्पुरस्थित सेलान्गर टर्फ क्लब मैदानमा रुविना र पुजा महतोले २–२ विकेट लिएपछि हङकङ खुम्चिएको थियो । रुविनाले ४ ओभरमा १५ र पुजाले १९ रन खर्चिन् ।

कविता जोशी र सीताले १–१ विकेट लिए । हङकङबाट कप्तान चान कारीले २१, मार्याम बिबीले १९, यासिम दासवानीले १५ र नताशा मिल्सले ११ रन बनाइन् । प्रतियोगितामा नेपालको यो पहिलो खेल हो ।

नेपाल र हङकङ समावेश समूह ‘बी’ माल्दिभ्स र भुटान रहेका छन् । नेपालले आइतबार भुटानसँग खेल्ने छ ।

१६ राष्ट्र सहभागि प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्ने छन् ।