कैलालीमा निर्वाध गुड्छन भारतीय सवारी साधन, ट्राफिक मौन

कैलालीमा निर्वाध गुड्छन भारतीय सवारी साधन, ट्राफिक मौन

धनगढी । रातिको समयमा धनगढी भन्सार नजिक राखिएको थियो –‘डिएलबिसिएएस ५६९९ नम्बरको कार ।’ यो सवारी भारतीय नम्बर प्लेटको हो । उक्त सवारी दैनिकजसो सोही क्षेत्रमा रातिको समयमा पार्किङ्ग गरेर राखेको देखिन्छ ।

भारतबाट आउने नागरिकले बढीमा ७ दिनका लागि प्रति दिन कारको लागि तीन सय, मोटरसाइकलको लागि १ सय ५० र टेलरसहितको ट्याक्टरका लागि ७ सय ५० रुपैयाँ भन्सार काट्नु पर्ने छ । तर, धनगढीमा हप्तौ दिन ती सवारी साधन गुड्ने गरेको पाइन्छ ।

नाकामा केही वर्षयता धनगढीमा भारतीय नम्बर प्लेटका सवारी साधनको प्रयोग बढ्दै गएको छ । ट्राफिक प्रहरीले चेकजाँचमा कडाई नगर्दा भारतीय नम्बर प्लेटका सवारीबाट भन्सारले राजश्व गुमाउनुपर्ने अवस्था रहेको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खडकाले भारतीय नम्बर प्लेटका सवारीबाट निश्चित शूल्क लिई प्रवेश गराउने नियम रहेको बताए । उनले भने –‘सरकारले सिमित अवधिका लागि भारतीय सवारी साधनलाई प्रवेश गराउन शूल्क लिने गरेको छ । नाकाबाट प्रवेश भएपछि कुन सवारी कुन सडकमा गुडे भन्ने हाम्रो चासोको विषय पनि होइन् ।’ तर, तोकिएको दिनभन्दा बढी समय कुनै पनि भारतीय नम्बर प्लेटका सवारी यहाँ गुडाउन नमिल्ने उनको भनाई छ ।

भन्सारले शूल्क लग्नेबाहेक त्यस्ता सवारी साधनको नियमनमा कुनै अधिकार नरहेको उनले बताए । ‘त्यस्ता सवारी साधनलाई चेकजाँच गरि कारबाहीको दायरामा ल्याउने काम ट्राफिक प्रहरीको हो’ उनले भने ।

भन्सारबाट दैनिकजसो दुई देखि ३६ बढी सवारी साधन धनगढी आउने गरेको भन्सार कार्यालयको तथ्यांकमा रहेको छ । उनले भने –‘दैनिक कति सवारी साधन प्रवेश गर्छन भन्ने यकिन भन्न सकिदैन् । तर, औसतमा दैनिक दुईटा भारतीय नम्बर प्लेटका सवारी साधन यो नाकाबाट प्रवेश गरेको देखिन्छ । कहिले काही एकैदिन ३६ भन्दा बढी सवारी यहाँ घुम्न भनी नाकाबाट प्रवेश गरेको पनि देखिन्छ ।’

उनका अनुसार भारतबाट त्रिनगर नाका भएर घुम्न आउने भारतीय नम्बर प्लेटका सवारीले एक हप्तासम्मको समय लिएर आउने गरेका छन् । तर, त्यसपछि ती गाडि यही गुडिरहेका हुन्छन वा हुँदैन भन्नेबारे भन्सारले चासो नराख्ने उनले बताए ।

भारतीय नम्बर प्लेटका सवारी अनुमति अवधिभन्दा बढी यही बस्नेमात्र नभई तोकिएको क्षेत्रभन्दा बाहिर पनि घुम्न जाने गरेको पाइएको छ ।

भारतीय नम्बर प्लेटका सवारीले प्रवेश भएको नाकाबाट १० किलोमिटरसम्ममात्र घुम्न जान पाउने नियम रहेको छ । तर, धनगढीलाई देखाउँदै भारतीय नम्बर प्लेटका सवारी अत्तरिया, खानीडाँडा, कर्णाली लगायतका क्षेत्रमा पनि पुग्ने गरेका छन् ।

यसबिचमा थुप्रै ट्राफिक चेकपोष्ट रहेको भएपनि भारतीय नम्बर प्लेटका सवारीलाई ट्राफिक प्रहरीले कारबाही गर्न नसकिरहेको स्थानीयहरुको गुनासो रहेको छ । एक स्थानीयले भने –‘ट्राफिक प्रहरीले पैसा लिएर उनीहरुलाई छोड्ने गरेको छ ।’

ट्राफिक पहरीको फितलो ब्यवस्थापनका कारण भारतबाट आएका सवारी साधन समेत समस्यामा पर्ने गरेका छन् । सीमा क्षेत्रबाट आउने भारतीय सवारी साधनलाई सीमा नाकामा नेपाल प्रवेश गर्दा आवश्यक पर्ने कागजातहरुका बारेमा जानकारी नगराउँदा आठ दश वटा ट्राफिक युनिट कटेपछि भारतीय सवारी साधन रोकेर रकम असुली गर्ने गरेको उनको भनाई छ ।

सुदूरपश्चिम ट्राफिक प्रहरीका  प्रवक्ता प्रहरी नायव उपरिक्षक अनिल उप्रेतीले ट्राफिक प्रहरीले नियम अनुसारनै काम गरिरहेको बताए । उनले भने –‘कुनै पनि बहानामा  रकम नलिने र सवारी नियमलाई कडाइका साथ लागु गरेका छौं ।’ उनले भारतीय नम्बर प्लेटका सवारी साधनका कागजपत्र हेरेर नियमअनुसार गुड्न दिइरहेको बताए ।