हेल्थ एसिस्टेन्ट पढेका हिमालय भट्ट, जसलाई लोकसेवा तयारी कक्षाको बिदाले बनायो फेरुवा

हेल्थ एसिस्टेन्ट पढेका हिमालय भट्ट, जसलाई लोकसेवा तयारी कक्षाको बिदाले बनायो फेरुवा

धनगढी । सुदूरपश्चिमतिर ‘फेरुवा’लाई ‘बिना काम घुम्ने मान्छे’का रुपमा बुझ्छन्। तर दार्चुलाका हिमालय भट्टले भने त्यसैलाई आफ्नो ‘पहिचान’ बनाएका छन्। नाम पछाडि फेरुवा शब्द जोडेका उनी अचेल बिना काम भने डुल्दैनन्। उनको दैनिकी सुदूरका कुनाहरुमा लुकेको सुन्दरता खोज्दै बित्छ। 

उनी डुलिरहन्छन्। कहिले गहिरा खोँचहरुमा पुग्छन्, कहिले अग्ला डाँडाहरु उक्लिन्छन्। अँध्यारा खोँचबाट उज्याला हिमालका फेदीसम्म पुग्दा उनको क्यामेरामा दर्जनौं दृश्यहरु कैद हुन्छन्। तिनै दृश्यलाई उनले विभिन्न माध्यमबाट आमजनका लागि पस्किन्छन्। 

सामाजिक सञ्जालमा भाइरल बनिरहने सुदूरपश्चिमका सुन्दर दृश्यमध्ये धेरैजसो उनकै क्यामेराले कैद गरेका हुन्छन्। 

‘घुम्दा मिल्ने आनन्दलाई शब्दबाट त कसरी बुझाउन सकिएला र ? यो त महसुस हुने कुरा भयो। जो घुम्न निस्किन्छ, त्यसले घुम्दाको आनन्द महसुस गर्छ,’ केही दिन अगाडि काठमाडौंमा भेटिएका उनले यात्रा बारेको आफ्नो अनुभव सुनाए। 

धेरैले जिन्दगीलाई यात्रा मान्छन्। उनी भने यात्रालाई जिन्दगी मान्छन्। ‘यात्रा’। यात्रा नगर्ने मान्छे त बाँचेकै हुन्न जस्तो लाग्छ होउ ।’ सामान्यतः इन्ट्रोभर्ट लाग्ने उनी यात्रानुभूति बाँड्न भने हृदयको अन्तरदेखि नै खुल्छन्।

गाउँ छाडेर उनको यात्रा पढाइ अगाडि बढाउन सुरु भएको थियो। महेन्द्रनगरमा एचए (हेल्थ असिस्टेन्ट) पूरा गरे। त्यसपछि घर फर्किए। 

‘जब स्कोप’का लागि राम्रो मानिएको एचए पढेका उनी गाउँमा त्यत्तिकै डुलेको देखेर आफन्त र गाउँलेले सोध्न थाले– फेरुवेइ जनि क्याइ डुलन्छै खाली (काम नपाएजसरी किन डुल्छौ त्यत्तिकै ।) 

त्यसपछि उनी लोकसेवा पढ्न भनेर काठमाडौं आए। 
  
गाउँमा ‘फेरुवा’को रुपमा गनिन थालिएपछि लोकसेवा पास गरेर जागिर खाने उद्देश्यसहित केन्द्रीय राजधानी छिरेका थिए। तर, काठमाडौंले उनीभित्रको ‘फेरुवापन’लाई झन् प्रस्फुटित बनाइदियो। 

लोकसेवाको तयारी कक्षा पढ्न जाँदा एकदिन साथीहरुबीच कालिञ्चोकको चर्चा भइरहेको सुनेछन्। ‘कहिले कालिञ्चोकमा हिउँ पर्ला र घुम्न जान पाइएला भनेर साथीहरु व्यग्र प्रतीक्षामा रहेको देखेँ। अनि गाउँको सम्झना आइहाल्यो। यहाँ मान्छेहरु हिउँको प्रतीक्षा गर्छन्। उता (दार्चुला)का डाँडाहरु ५–६ महिनासम्म हिउँले ढाकिएका हुन्छन्,’ काठमाडौंबाट फेरि गाउँतिरै पाइला मोड्नु पर्दाको स्थितिबारे हिमालय सुनाउँछन्, ‘केही दिनका लागि बिदा हुने भयो। काठमाडौंमा बस्नुभन्दा घरतिरै पुग्छु भनेर दार्चुला हिँडे।’

काठमाडौंबाट गाउँ पुगेपछि उनी घरमा त्यत्तिकै बसेनन्। झोलामा केही जोर लुगा बोकेर निस्किए। 

सिद्धटोपी धेरै सुन्दर छ भन्ने सुनेका थिए, गाउँकै केही दाइबाट। घरबाट निस्किएपछि सिद्धटोपीलाई गन्तव्य बनाएर पाइला अगाडि बढे। 

‘सिद्धटोपी पुगेपछि भने यहाँ किन पहिल्यै पुगेनछु भन्ने लाग्यो। त्यहाँको सुन्दरता, त्यहाँका स्थानीयको व्यवहार। सबैले आकर्षित गर्‍यो,’ हिमालयले आफ्नो पहिलो ‘औपचारिक’ यात्राबारे सुनाए।  

त्यसपछि त्यहाँको सुन्दरता आफूले मात्रै होइन, अरुले पनि देख्न पाउनुपर्छ भनेर फेसबूकमा पेज खोले– भिजिट दार्चुला। त्यही पेजमा फोटोहरु साझा गर्न थाले। धेरैबाट सकारात्मक प्रतिक्रिया मिल्यो। 

‘दार्चुलामा पनि यस्तो ठाउँ छ र ? भनेर सोध्ने मान्छेहरु। त्यसपछि अझै अरु सुन्दर ठाउँको सुन्दरता दृश्यमा उतार्न मन लाग्यो,’ हिमालय सुनाउँछन्।

आँखाले देखेका सुन्दर दृश्यलाई दस्ताबेजका रुपमा उतार्न उनीसँग मोबाइल मात्रै थियो। क्यामेराको अभाव पहिल्यै खड्केको हो। तर किन्ने स्रोत थिएन। 

एकदिन त्यसै झोँक चल्यो र फेसबूकमा आफ्नो ‘पीडा’ पोखे।  सुदूरपश्चिम चिनाउने सपना पूरा गर्न राम्रा तस्बिर चाहिने, र तस्बिर कैद गर्न राम्रो डीएसएलआर क्यामेराको खाँचो भएको भनेर सन्देश पोस्ट गरेको २–४ दिनमै उनका लागि १ लाख बढी रकम संकलन भयो। सामाजिक सञ्जाल प्रयोकर्ताबाट संकलन भएको १ लाख २५ हजार र स्थानीय तह तथा आफन्तबाट प्राप्त सहयोग समेत जोडेर १ लाख ९० हजार रुपैयाँमा क्यानन ‘९०डी’ क्यामेरा खरिद गरे।  

अपि र साइपाल हिमालको बेसक्याम्प पुगिसकेका उनले खप्तड, बडिमालिका र रामारोशनको पनि यात्रा पूरा गरेका छन्। डडेलधुराको अजयमेरु कोट लगायत ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको समेत भ्रमण गरेका छन्। 

अछामको रामारोशन क्षेत्र अझै ‘मज्जा’ले घुम्ने चाहना छ। ‘रामारोशन जतिपटक पुगे पनि अझै घुम्नुपर्छ भन्ने लाग्छ। काठमाडौंबाट फर्किएर फेरि त्यहाँ पुग्छु,’ हिमालयले सुनाए। 

सामाजिक सञ्जालमा फोटो राख्न थालेपछि युवामाझ लोकप्रिय ‘रुटिन अफ नेपाल बन्द’ लगायत पेजहरुले उनका तस्बिरलाई स्थान दिन थाले। अहिले त ‘रुटिन अफ नेपाल बन्द’ले उनका केही ‘प्रोजेक्ट’मा साझेदारी समेत गर्न थालेको छ। 

पहिले यात्रा गरेर भरपूर आनन्द लिनुपर्छ भन्ने मान्यता राख्ने हिमालय अहिले भने अरुले पनि आफूले जस्तै घुमून भन्ने चाहना राख्छन्। चिनिएका र नयाँ गन्तव्यका सुन्दर तस्बिर खिच्छन् र सञ्चालमार्फत् साझा गरिहाल्छन्। 

‘जसरी हुन्छ सुदूरको लुकेको सुन्दरतालाई सबैमाझ पुर्‍याउनुपर्छ  भन्ने ध्येय हो,’ उनी सुनाउँछन्। 

सुदूरपश्चिममा पर्यटन संस्कृतिको अझै विकास हुन नसकेको लाग्छ उनलाई। घुम्नु भनेको तीर्थ जानु मात्रै हो भन्ने मान्यतालाई चिर्ने प्रयत्नमा छन् उनी। 

‘हाम्रोतिर घुम्नु भनेको तीर्थयात्रा गर्नु हो भन्ने मान्यता छ। तीर्थयात्रा पनि गर्नुपर्छ। तर तीर्थ बाहेकका गन्तव्यमा पनि घुम्नुपर्छ। त्यहाँको भूगोल, संस्कृति बुझ्नुपर्छ भन्ने मान्यताको विकास अझै हुन सकेको छैन,’ हिमालय भन्छन्। 

गन्तव्य क्षेत्रमा पुग्ने पर्यटकका लागि अझै पनि बासको प्रबन्ध राम्रो हुन सकेको छैन। केही ठाउँमा पर्यटकलाई लक्षित गरी होटलहरु खुल्न थाले पनि त्यसमा स्थानीयबासीको प्रत्यक्ष सहभागिता अझै हुन नसकेको उनी बताउँछन्। 

‘बाहिरबाट आउने पर्यटकले सुन्दर भूगोलसँगै हाम्रो कला, संस्कृतिबारे पनि चासो राख्छन्। बुझ्न खोज्छन्, तर त्यसलाई हामीले पस्किन सकेका छैनौं,’ हिमालय भन्छन्। 

कला र संस्कृतिलाई पर्यटनसँग जोड्न नसक्दा कयौं सस्कृतिहरु लोप हुँदै गएको बताउँछन् उनी। 

‘सुदूरपश्चिम मौलिक संस्कृतिको खानी नै हो। तर त्यसको प्रचार अझै हुन सकेको छैन। संस्कृतिलाई पर्यटनसँग जोड्न सकियो भने सबैभन्दा बढी पर्यटक सुदूरपश्चिममा आकर्षिक हुन्छन्। अब हामीले त्यसतर्फ जोड दिनुपर्छ,’ हिमालय सुनाउँछन्। 

अबको उनको योजना पनि भौगोलिक सुन्दरतासँगै कला र संस्कृतिलाई संयुक्त रुपमा पस्किन खोज्ने छ। त्यसका लागि उनले केही स्थानीय तहसँग सहकार्य भइरहेको पनि जानकारी दिए। 

‘केही स्थानीय तहले आफ्नो ठाउँको सुन्दरता, कला र संस्कृतिको प्रचार होस् भनेर काम गर्न खोजेका छन्। जनप्रतिनिधिमा पनि पर्यटन संस्कृतिको चेत बढेको छ,’ हिमालय भन्छन्, ‘विस्तारै चेतना बढिरहेको त छ, तर जुन रुपमा हुनुपर्ने त्यसअनुसार भने अझै हुन सकेको छैन।’

राजनीतिक दलका नेता, नीति निर्माता र प्रशासकहरुमा पर्यटनको चेतना नहुँदा नेपालमा पर्यटन क्षेत्रको विकास हुन नसकेको उनको बुझाइ छ। 

आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, ‘राम्रो फोटो देख्यो भने सरकारी अधिकारी र सांसदहरुले त्यो फोटो हामीलाई दिनुहोस्, प्रयोग गर्छौं भन्छन्। तर पारिश्रमिक खोज्यो भने फोटोको पनि पैसा पर्छ र भन्छन्। खासमा त्यसका लागि खर्च हुने श्रमको मूल्य नै हुन्न भन्ने बुझाइ छ। त्यसमा परिवर्तन भयो भने पर्यटन क्षेत्रले फड्को मार्छ।’