आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको उपाधि चौथो पटक अस्ट्रेलियालाई

आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको उपाधि चौथो पटक अस्ट्रेलियालाई

भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको उपाधि चौथो पटक जितेको छ ।

दक्षिण अफ्रिकाको बेनोनीमा हिजो भएको फाइनलमा २ सय ५४ रनको लक्ष्य पछ्याएको भारतले खराब प्रदर्शन गर्दै ४३ ओभर ५ बलमा अलआउट भएर जम्मा १ सय ७४ रनमात्र बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भयो ।  

भारतका लागि मुसिर खानले २२‚ आदर्श सिंहले ४७ रन र मुरुगन अभिषेकले ४२ रन तथा नमन तिवारीले १४ रन बनाए । अस्ट्रेलियाका लागि महली बेयर्डम्यान र र्याफ म्याकमिलनले ३÷३ विकेट‚ क्यालम विडलरले २ विकेट र चार्ली एन्डरसन तथा टम स्ट्रेकरले १÷१ विकेट लिए ।

त्यसअघि  टस जितेर पहिले ब्याटिङ थालेको अस्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ५३ रन बनायो । अस्ट्रेलियाका लागि हरजस सिंहले सर्वाधिक ५५ रन बनाए ।

कप्तान ह्युग वेबगेनले ४८ रन बनाउँदा ओलिभर पिक ४६ रनमा अविजित रहे। ह्यारी डिक्सनले ४२ तथा चार्ली एन्डरसनले १३ रन बनाए । बलिङतर्फ भारतका राज लिम्बानीले सर्वाधिक ३ विकेट र नमन तिवारीले २ विकेट लिए ।

यसअघि भारतले गएको वर्ष समेत गरेर अहिलेसम्म ५ पटक १९ वर्षमुनिको विश्वकप जितेको थियो । अस्ट्रेलियाले भने यसअघि सन् १९८८, २००२, २०१० मा उपाधि जितेको थियो ।