ब्ल्याकपिंककी लिसाले हलिउड सिरिज ‘ह्वाइट लोटस’बाट अभिनयमा डेब्यु गर्दै

ब्ल्याकपिंककी लिसाले हलिउड सिरिज ‘ह्वाइट लोटस’बाट अभिनयमा डेब्यु गर्दै

काठमाडौं । के-पप ब्याण्ड ब्ल्याकपिंककी सदस्य लिसाले एचबीओ सिरिज ‘द ह्वाइट लोटस’को सिजन ३ बाट हलिउड डेब्यु गर्ने निश्चित भएको छ । भेराइटी म्यागजिनले लिसा उक्त सिरिजको कास्टको रुपमा अनुबन्धित भएको जनाएको छ ।

एचबीओको यो हिट श्रृंखलामा लिसाको क्रेडिट-नेम ‘ललिसा मनोवल’ राखिने भएको छ । उनको भूमिका के हुने भन्नेबारे बाहिर खुलाइएको छैन । ‘द ह्वाइट लोटस’को छायांकन फेब्रुअरीमा थाइल्याण्डको कोह सामुई, फुकेट र बैंककमा गरिने जनाइएको छ ।

यो सिरिजमा पहिलेकै कलाकारहरु लेस्ली बिब, डोम हेत्रकुल, जेसन इसाक, मिशेल मोनाघन लगायत छन् । लिसाले यो सिरिजबाटै अभिनयमा पनि डेब्यु गर्नेछिन् ।

उनी अब एचबीओ शृंखलामा देखापर्ने ‘ब्ल्याकपिंक’की दोस्रो सदस्य हुन् । यसअघि जेनी (जेनी रुबी जेनको रूपमा श्रेय)ले २०२३ जुनमा प्रिमियर भएको सिरिज ‘द आइडल’बाट अभिनय सुरुवात गरेकी थिइन् ।

जिसु, जेन्नी, रोजी र लिसा सदस्य रहेको ‘ब्ल्याकपिंक’ संसारको सबैभन्दा लोकप्रिय सांगीतिक समूहमध्ये एक हो । उनीहरुले अगस्ट २०१६ मा वाईजी इन्टरटेनमेन्टको ब्यानरमा ‘स्क्वायर वन’ एल्बम रिलिज गरेका थिए ।