माल्दिभ्स १३ रन बनाएर अल आउट, नेपालको कीर्तिमानी जित

माल्दिभ्स १३ रन बनाएर अल आउट, नेपालको  कीर्तिमानी जित

एसिसी वुमेन्स प्रिमियर कप २०२४ मा नेपाली महिला टोलीले माल्दिभ्सविरूद्ध कीर्तिमानी जित निकालेको छ।

मंगलबार मलेसियामा भएको एसिसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले २१४ रनको कीर्तिमानी जित हासिल गरेको हो। नेपाली महिला क्रिकेटको इतिहासमै यो अहिलेसम्मको फराकिलो जित हो। 

कीर्तिमानी जित दिलाउन रूबिना क्षेत्रीको शतक र पुजा महतोको अर्धशतकमा नेपालले माल्दिभ्सलाई  २२८ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा आएको माल्दिभ्सलाई नेपालले १३.५ ओभरमा १० रनमै अलआउट गरेको थियो।

माल्दिभ्सलाई सस्तोमा अलआउट गर्न अश्मिना कर्माचार्यले चार विकेट लिँदा पुजा महत रूबिना क्षेत्रीले ३ विकेट लिइन्।  

नेपाली महिला टिमका लागि एकै खेलमा सर्वाधिक  स्कोरको रेकर्ड समेत रुबिनाले आफ्नो नाममा लेखाएकी छन्।

यसअघि नेपाली महिला टिमबाट सर्वाधिक स्कोरको कीर्तिमान सीता रानामगरको नाममा थियो। उनले कतारविरुद्ध २०२१ मा ८२ रन जोडिकी थिइन्।

आज माल्दिभ्ससँगको खेलमा बनेको स्कोर नेपाली महिला टिमको टी-२० मा अहिलेसम्मकै उच्च स्कोर हो।

यसअघि नेपालको टी-२० महिला अन्तर्राष्ट्रियमा उच्च स्कोर १६४ रन थियो। नेपालले कतारविरुद्ध २०२१ मा ३ विकेटको क्षतिमा १६४ रन जोडेको थियो।

नेपालले यसअघि शनिबार हङकङलाई ८ विकेट र आइतबार भुटानलाई पनि ८ विकेटले नै पराजित गरेको थियो। दुई खेल जितिसक्दा नेपाल यसअघि नै अन्तिम आठमा पुगिसकेको छ। आजको खेल जितेसँगै नेपाल समूह विजेताको रूपमा अन्तिम आठमा पुगेको छ।