दीपेन्द्रसिंह ऐरीले नामिबियाविरुद्धको खेल गुमाउने

दीपेन्द्रसिंह ऐरीले नामिबियाविरुद्धको खेल गुमाउने

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी विश्वकप लिग–२ मा बिहीबार नामिबियाविरुद्धको खेल गुमाउने पक्का भएको छ ।

दीपेन्द्र यूएई क्रिकेट बोर्डले आयोजना गरेको इन्टरनेसनल लिग २ खेल्न दुबई पुगेका छन् । दीपेन्द्र सम्मिलित गल्फ जायन्ट्सले आज राति ८: १५ मा एमआई इमिरेट्ससँग पहिलो क्वालिफायर खेल्दैछ । सोही खेलका कारण दीपेन्द्रले नामिबियासँगको खेल गुमाउने पक्का भएको स्रोतको भनाइ छ ।

दीपेन्द्रले नामिबियासँगको खेल गुमाउँछन् । यदि दीपेन्द्रको टोली फाइनलमा नपुगेको खण्डमा नेदरल्यान्ड्ससँग शनिबार खेल्न आउनेछन् । तर, गल्फ जायन्ट्स फाइनलमा पुगेको खण्डमा नामिबियासँगै नेदरल्यान्ड्सविरुद्धको खेल पनि गुमाउने छन्, स्रोतले अनलाइनल खबरलाई भन्यो ।

फाइनल खेल शनिबार राति छ । आज पराजित हुँदा भोलि (बिहीबार) दोस्रो क्वालिफायर खेल्नुपर्ने हुन्छ । उक्त खेलमा पराजित भएमा मात्रै दीपेन्द्र नेदरल्यान्ड्ससँगको खेलमा उपलब्ध हुनेछन् । तर, यदि फाइनलमा पुगेको खण्डमा भने दीपेन्द्रले सुरुआती दुई खेल गुमाउने पक्का छ ।

क्यानडासँगको तीन खेलको सिरिजमा भने दीपेन्द्र टोलीमा थिएनन् । दीपेन्द्र नहुँदा टोलीमा अफस्पिनर पवन सरार्फले मौका पाउनेछन् ।

नेपालले लिग-२ खेल्ने टोलीमा दुई परिवर्तन गरेको छ ।क्यानडासँग सिरिजमा राम्रो प्रदर्शन गरेका अनिल शाह र देव खनाल टोलीमा समेटिंदा अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन् ।

अनिलले क्यानडासँग दोस्रो ओडीआई खेलमा ५० र तेस्रोमा ११२ रनको शतकीय इनिङ खेलेका थिए । उता नेपालबाट यू-१९ क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका देवले क्यानडासँग दोस्रो ओडीआई खेलमा ७६ रन बनाएका थिए । त्यसैको कारण यी दुई खेलाडीलाई नेपालले लिग २ मा समेटेको हो ।

नेपालले बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । २१ फेब्रुअरीमा नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यसपछि नामिबिया र नेदरल्यान्ड्ससँग नै त्रिकोणात्मक टी-२० आई सिरिज खेल्ने कार्यक्रम छ ।

नेपालको टोली :

रोहित पौडेल(कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।