विद्यालयहरुमा अक्षरारम्भ संगै सरस्वती पूजा गरियो

विद्यालयहरुमा अक्षरारम्भ संगै सरस्वती पूजा गरियो

धनगढी । बुधबार बसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । सूर्य उत्तरतिर लाग्ने दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ ।

गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

यसै अवसरमा सरस्वती मन्दिर तथा विद्यालयहरुमा पूजा आराधना गरिएको हो । आजकै दिन विद्यालय नपठाएका साना बालबालिकाहरूलाई अक्षरारम्भ गराउने चलन छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या आउने विश्वास रही आएको छ ।

सरस्वती पूजाको अवसरमा कैलालीको धनगढी, अत्तरिया,  सुखड, लम्की, टीकापुर लगायतका क्षेत्रका सबैजसो विद्यालयहरले अक्षरारम्भ गरेर सरस्वती पूजा गरेका छन । यसैदिन विवाह, व्रतबन्ध, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ ।