सुदूरपश्चिम र कोहलपुर मेयर-११ फाइनलमा

सुदूरपश्चिम र कोहलपुर मेयर-११ फाइनलमा

धनगढी । सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर-११ बाँकेको कोहलपुरमा जारि सुशील कोइराला मेमोरियल यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल पुगेका छन्। उपाधिको लागि बिहिबार सुदूरपश्चिम र कोहलपुर मेयर-११ बीचको खेल कोहलपुर क्रिकेट मैदानमा बिहान १० बजे प्रतिस्पर्धा गर्नेछन्। 

कोहलपुर नगरपालिका द्वारा आयोजित प्रतियोगिताको लिग चरणको सबै खेल समाप्त हुँदा सबै चार खेल जित्दै ८ अंक सहित कोहलपुर मेयर-११ अंकतालिकाको शिर्ष स्थानमा रहेर फाइनलमा स्थान पक्का गर्यो। सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको समान ४ अंक रहेता पनि नेट रन रेटमा अघि रहँदै सुदूरपश्चिम अंकतालिकाको दोश्रो स्थानमा रहेर फाइनल प्रवेश गर्यो। सुदूरपश्चिमको नेट रन रेट ०.०६६१, गण्डकीको ०.३१५ र बागमतीको -०.४९२ रह्यो। 

प्रतियोगिता अन्तर्गत आज सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र कोहलपुर मेयर-११ विजयी भए। सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई तथा कोहलपुर मेयर-११ ले बागमती प्रदेशलाई पराजित गर्यो। 

आजको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्यो।

लुम्बिनीले दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले ३ विकेट गुमाएर ७.४ ओभरमा भेटायो।

सुदूरपश्चिमको लागि मनिषा बोहराले १४ बलमा ४ चौका मद्दतले सर्वाधिक २३ तथा अनु कडायतले १७ बलमा ३ चौका मद्दतले १८ रन योगदान दिईन्। स्नेहा महराले १० रन योगदान दिईन्। लुम्बिनीको बलिंगमा सुश्मिता भुसालले २ र सरु तिवारीले १ विकेट लिईन्।

यस अघि टस जितेर ब्याटिंग गरेको लुम्बिनीले १९.३ ओभरमा ५९ रनमा सबै विकेट गुमायो।

लुम्बिनीको लागि एन्जिला पाठकले सर्वाधिक १७ रन योगदान दिईन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमले अतिरिक्तको रुपमा १७ रन खर्चियो।

सुदूरपश्चिमको बलिंगमा रबिना साउदले सर्वाधिक ३ विकेट लिईन्। प्लेयर अफ द म्याच घोषित साउदले ४ ओभरमा ९ रन खर्चिन्। करिश्मा थापाले २ तथा अनु कडायत र निशा खडायतले १/१ विकेट लिईन्। 

आजको दोश्रो खेलमा कोहलपुर मेयर-११ ले बागमती प्रदेशलाई ४६ रनले पराजित गर्यो। 

कोहलपुर मेयर-११ ले दिएको १३३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो। 

बागमतीको लागि बिपिशा शाहीले सर्वाधिक २१ रन, अलिशा खड्काले १८ तथा क्रिश्मा गुरुङले १६ रन योगदान दिईन्। 

कोहलपुर मेयर-११ को बलिंगमा प्रतिमा शाहले २ विकेट लिंदा भवानी कमाती, आरति महतो, दिक्ष्या पुरी र रिया शर्माले १/१ विकेट लिए। 

टस जितेर ब्याटिंग गरको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा १ विकेट गुमाएर १३२ रन बनायो। 

कोहलपुरको लागि कप्तान साना प्रभिनले अविजित ४८ तथा अविजित एलिशा यादवले ४७ रन बनाए। प्रभिनले ६० बलमा ५ चौका तथा यादवले ४६ बलमा ६ चौका प्रहार गरे। किरन कुँवरले १५ रन बनाए। दोश्रो विकेटको लागि प्रभिन र यादवले अविजित १०३ रनको साझेदारी गरे। 

खेलको प्लेयर अफ द म्याच साना प्रभिन घोषित भईन्।