नेपालको खेल नै छाडेका दीपेन्द्र गल्फको बेन्चमा

नेपालको खेल नै छाडेका दीपेन्द्र गल्फको बेन्चमा

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नामिबियासँगको खेल छाडेर इन्टरनेशल लिग टि-२० खेल खेल्न गए पनि गल्फ जायन्ट्सले बेन्चमा राखेको छ ।

दीपेन्द्र गत शुक्रबार युएईतर्फ गएका थिए । त्यसयता गल्फले दुई खेल खेलेको छ । जसमा दीपेन्द्र दुबैमा बेन्चमा बस्नु पर्यो ।

बुधबार राति गल्फले पहिलो क्वालिफायर खेलमा एमआई इमिरेट्ससँग खेलेको थियो । त्यही खेलको कारण दीपेन्द्रले आज नामिबियासँग हुन लागेको नेपालको खेल गुमाउँदै छन् । तर दीपेन्द्रलाई गल्फ टोलीले प्लेइङ–११ मा पनि राखेन ।

पहिलो खेलमा ४५ रनले पराजित भएपछि गल्फले आज दोस्रो क्वालिफायरमा दुबई क्यापिटल्ससँग खेल्दैछ । उक्त खेलमा दीपेन्द्रको टोली पराजित भएमा शनिबार नेदरल्यान्ड्ससँग उपलब्ध हुनेछन् । तर दीपेन्द्रको टोली विजयी हुँदै फाइनलमा पुगेको खण्डमा नेदरल्यान्ड्ससँगको खेल पनि गुमाउने छन् ।

गल्फ जायन्ट्सबाट खेलेका नामिबियाका कप्तान जेराल्ड इरास्मस भने नेपालमा लिग २ खेल्न आइपुगेका छन् । बुधबार पत्रकार सम्मेलनमा जेराल्डले दीपेन्द्र नेपालको टोलीमा नहुँदा आफूहरुलाई फाइदा मिल्ने बताएका थिए ।

‘दीपेन्द्र नेपालका एक राम्रो फिल्डर र क्रिकेटर हुन् । यसले हामीहरुलाई केही फाइदा मिल्नेछ । तर अन्य ११ खेलाडी पनि त्यति नै क्षमतावान् छन्’, जेराल्डले भने ।