आईसीसी क्रिकेट विश्वकप लिग–२ : नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य ३३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । नामिबियाका जान फ्रालिङ्कले ३४, जान निकोल लफ्ट इटनले ३१ रन बनाए ।

नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४१ ओभर १ बलमा १ सय ३२ रनमा अल आउट भयो ।

नेपालका भीम सार्कीले सबैभन्दा धेरै ४४ रन बनाए ।

यस्तै गुलसन झा २१, करण केसी १६, कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १ र कुशल भुर्तेल शून्यमै आउट भए । नामिबियाका गेरहार्ड इरासमसले ५ विकेट लिए । घरेलु मैदानमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा कम रन हो ।

यसअघि नेपालले सन् २०२२ मा कीर्तिपुरमा यूएईसँगको खेलमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । यस्तै २०२१ मा कीर्तिपुरमा ओमानसँगको खेलमा पनि नेपाल १ सय ७९ रनमा अल आउट भएको थियो ।

यी दुवै रन नेपालले दोस्रो पारीमा बनाएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको पहिलो शृङ्खला आजदेखि शुरु भएको हो । यो शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् ।

लिग–२ मा नेपाल, क्यानडा, नामिबिया, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, अमेरिका र यूएईबीच २४ वटा त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ । लिग–२ मा हरेक टोलीले ३६ वटा खेल खेल्नेछ ।

३ वर्षसम्म चल्ने लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्वकप छनोट खेल्ने पाउनेछन् भने पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।