एसीसी महिला प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल मलेसियासँग भिड्दै

एसीसी महिला प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल मलेसियासँग भिड्दै

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले मलेसियाको सामना गर्दैछ। यो खेल फाइनल सँगै टी-२० एसिया कप छनोटका लागिसमेत महत्त्वपूर्ण हुने भएकाले दुवै टिम फाइनल प्रवेशका लागि प्रयासरत छन्।

क्वाटरफाइनलमा नेपालले कुवेत तथा मलेसियाले जापानलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेका थिए। मलेसियाको बायुमास ओभलमा ११:१५ मा सुरु हुने खेलमा दुवै टोली आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनल प्रवेशको लक्ष्यमा रहेका छन्।

खेलमा नेपाल समूह ‘डी’ को विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको थियो भने समूह ‘सी’ मा मलेसियापनि अपराजित रहँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो।

नेपालले आफ्नो पहिलो खेलमा हङ्कङलाई आठ विकेटले हराउँदा दोस्रो खेलमा नेपालले भुटानलाई पनि आठ विकेटले पराजित गरेको थियो। नेपालले आफ्नो समूहको तेस्रो तथा अन्तिम खेलमा माल्दिभ्समाथि २ सय १४ रनको फराकिलो अन्तरले पाखा लगाएको थियो। मलेसियाले भने इन्डोनेसिया, कतार र बहराइनलाई पराजित गरेको थियो।

महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको एसिसीले यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी-२० एसिया कपमा सहभागिता जनाउन पाउने छन्। एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुँदै छन्।