विद्यालयदेखि वडा कार्यालय पुग्न डुङ्गाकै भर, नुनदेखि सुनसम्म भारतकै

विद्यालयदेखि वडा कार्यालय पुग्न डुङ्गाकै भर, नुनदेखि सुनसम्म भारतकै

मोहनपुर : कैलालीको कैलारी गाउँपालिका–३, मोहनपुर गाउँ । हुलाकी सडकबाट करिब ३ किलोमिटरको दुरीमा । भारतसँग जोडिएको छ । ९० घर परिवारको बसोबास छ मोहनपुरमा । 

डुङ्गाले जोडेको नदी पारिको मोहनपुर गाउँका थुप्रै पिडा छन् । यस्तो छ मोहनपुरवासिको कथा : 

विद्यालय जान दैनिक डुङ्गा चढ्नुपर्ने

मोहनपुरकी कल्पना चौधरी ८ मा पढ्छन् । गाउँमा ६ कक्षाभन्दा माथिल्लो तहमा पढाइ हुने विद्यालय नभएपछि उनी वर्षायाममा हरेक दिन डुङ्गा चढेर मोहना नदी पारी रहेको आई गाउँको जनता माविमा अध्ययनका लागि जान्छन् । 

उनलाई हरेक दिन बिहान एउटै चिन्ता हुन्छ, आज विद्यालय पुगिन्छ कि पुगिँदैन । र, विद्यालय पुगेपछि अर्को चिन्ता थपिन्छ छुट्टी भएपछि घर फर्कन सकिन्छ कि सकिँदैन । 

कल्पनालाई मात्रै हैन, मोहनपुरका ४० जना विद्यार्थीको एउटै चिन्ता हो यो । विद्यालय कसरी पुग्ने र बिदापछि घर कसरी फर्कने ? 

भारतसँग जोडिएको मोहनपुर गाउँका ४० बालबालिकाहरूले विद्यालय जान हरेक दिन डुङ्गा चढेर नदी पार गर्नुपर्छ । पढ्दै गर्दा नदीमा बाढी बढेपछि डुङ्गा चल्दैन र पारी नै थुनिनु पर्छ । नदीमा ठुलो बाढी आएपछि उनीहरू विद्यालय जान पाउँदैनन् । 

कक्षा १० मा अध्ययनरत पवित्रा चौधरी भन्छिन, ‘स्कुल जान साह्रै दुख छ । घरबाट जाँदा कसरी स्कुल पुग्ने चिन्ता हुन्छ । स्कुलबाट फर्किदा कसरी घर पुग्ने चिन्ता हुन्छ ।’

स्कुल ढिला पुगिन्छ, परीक्षा छुट्छ 

‘नदीमा ठुलो बाढी आएपछि डुङ्गा चल्दैन । परीक्षा नै भए पनि हामीहरू स्कुल जान पाउँदैनौ ।’ कक्षा ७ मा अध्ययनरत निर्मला चौधरीले दुखेसो पोखिन, ‘धेरै विद्यार्थीका परीक्षा छुटने गरेका छन् । कहिले डुङ्गाको पालो कुर्दा कुर्दा स्कुलमा ढिला पुगिन्छ । सरको गाली खानुपर्छ ।’

‘डुङ्गा चढेर स्कुल जानुपर्ने बाध्यता छ ।’ कक्षा ५ पास भएर ६ मा पढ्दै गरेका अनिल चौधरीले भने, ‘डर त लाग्छ डुङगा चढ्न ।  तर के गर्नु ? पढ्नै प¥यो ।’

अभिभावक भन्छन् : डरले छोराछोरीलाई बाहिर पढाउँछौ

‘घरबाट स्कुल पठाएपछि घर नफर्किँदासम्म चिन्ता हुन्छ । छोराछोरी राम्रोसँग घर फर्किन्छन् कि फर्किदैनन भनेर ।’ सविना चौधरीले भनिन, ‘७ कक्षामा पढ्ने छोरी थिई, नदीकै डरले मामा घर हसुलियामा राखेर पढाइरहेकी छु ।’

सविनाले मात्रै हैन, नदीकै डरले मोहनपुरका कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई धनगढी, हसुलिया, फलुवारी लगायतका स्थानमा पढ्न पठाएका छन् । 

गाउँ पारि, वडा कार्यालय पारि

कैलारी गाउँपालिका, ३ मोहनपुर एउटा टोल मात्रै हो ।  वडा नम्बर ३, कै आई गाउँ भने नदी पारि छ । 
वडा कार्यालय पनि नदी पारि छ । जसका कारण उनीहरूलाई वडा कार्यालय पुग्न पनि वर्षायाममा डुङगा नै चढ्नुपर्ने बाध्यता छ । 

मोहनपुरका भलमान्सा भागिराम चौधरी भन्छन, ‘सबै कुराको दुख्छ हामी मोहनपुरवासिलाई । विद्यालय जाँदा डुङ्गाकै भर, बजार जाँदा डुङ्गाकै भर, वडा कार्यालय जाँदा पनि डुङ्गाकै भर ।’

ज्यान नै जोखिममा 

गत वर्षको भदौ महिनामा मोहनपुरकी २४ वर्षकी पार्वती चौधरीलाई सुत्केरी व्यथा लाग्यो । उनलाई अस्पताल लिनुपर्ने भयो । तर, रातीको समय भएका कारण डुङ्गा भेटिएन र पार्वतीको अस्पताल पु¥याउन नसक्दा अकालमै मृत्यु भयो । 

यसअघि पनि कहिले डुङ्गा नहुँदा र कहिले डुङ्गा पल्टेर धेरैले ज्यान गुमाईसकेको बताउछन भलमान्सा चौधरी । 

 

हिउँदका महिना स्थानीयहरूले नदीमा काठमो पुल हाल्ने गरे पनि वर्षा सुरु भएसँगै नदीमा पानी बढ्छ र पुल बगाएर लग्छ । त्यसपछि मोहनपुरवासिले जोखिमपूर्ण डुङ्गाको यात्रा गर्नुपर्ने बाध्यताका दिन सुरु हुन्छन् । 

बाढी आए भारतीय जङगलमा बास

मोहना नदी किनारामा रहेको मोहनपुर गाउँमा हरेक वर्ष बाढी पस्छ । घरभित्र पुरै पानी पस्छ । बस्न सकिँदैन । 

मोहना नदीमा ठुला पानी भए पछि डुङ्गा चल्दैन । त्यहाँ न उद्धारका लागि सुरक्षाकर्मी पुग्न सक्छ न कुनै राहत । 

त्यसपछि उनीहरूको बास हुन्छ भारतको चन्दन चौकी नजिकैको जङगलमा । भोकै बास बस्नुपर्ने बाध्यता उनीहरूको हुन्छ । गाउँ नै नदी कटानको जोखिममा छ । 

नुनदेखि सुनसम्म भारतकै 

नेपाली बजार आउन डुङ्गा चढ्नुपर्ने बाध्यतामा रहेका मोहनपुलवासिका लागि भारतको चन्दन चौकी स्थानीय बजार जस्तै छ । त्यसैले उनीहरू नुनदेखि सुनका लागि भारतीय बजार चन्दनचाकी प्रयोग गर्दछन् । 

आफ्नै डुङगा, पालै पालो चलाउनुपर्ने

मोहना नदीमा डुङ्गा चलाउने ठेक्का लिएका एक व्यक्तिले घरायसी कारण देखाउँदै यस वर्ष डुङ्गा चलाएनन् । 

त्यसपछि गाउलेहरुले आफै डुङ्गा बनाए र चलाउन थाले । वडा नम्बर ३ का बासिन्दालाई भने डुङ्गा चढन् पैसा पर्दैन । 

अन्य गाउँमा मानिहरुबाट मात्रै डुङ्गा चढेको पैसा लिइन्छ । त्यसबाट उठेको रकम जम्मा गर्नका लागि सुन्दर समुदाय विपत् जोखिम व्यवस्थापन नाम समूह स्थापना गरेर हालसम्म करिब ४ लाख रुपैयाँ जम्मा गरिएको छ । 

उक्त रकम कुनै मानिसलाई गाउँमा समस्या पर्दा सहयोग दिइने गरिएको भलमान्सा चौधरीले जानकारी दिए । 

डुङ्गा चालकलाई कुनै पैसा दिइएको छैन । डुङ्गा चलाउन पालो राखिएको छ । चार जनाका चार समूह बनाइएका छन् । उनीहरूले पालै पालो डुङ्गा चलाउने गरेका छन् । 

डुङ्गाले जोडेको नदी पारिको मोहनपुर गाउँमा डुङ्गो पिडा मात्रै दिएको छैन, आर्थिक सहयोग समेत गरेको छ ।

मोहनपुरवासिको गुनासो 

विगतदेखि आश्वासन वाड्दै आएका नेताहरुले गतवर्ष सम्पन्न स्थानीय तहको चुनावदेखि प्रदेश र संघको चुनावमा समेत नदीमा पुल हाल्ने चुनावी नारा नघन्काएका हैनन । 

तर, चुनाव जितिसकेपछि पुलका हाल्नका लागि पहल गर्नु त के गाउँमै नआएको गुनासो गर्छन ६५ वर्षका दुखीराम चौधरी । 

‘गाउँमा ५ कक्षासम्म पढाई हुने विद्यालय मात्रै छ । नदीमा पुल छैन ।’ उनले दुखेसो पोखे, ‘चुनावका बेला सवै माग पुरा गर्ने आश्वासन बाड्छन, चुनाव जितेपछि भने गाउँ फर्किदैनन । विद्यार्थी कम भएको भन्दै १० कक्षासम्म पढाई हुने विद्यालय खोल्न सकिदैन भन्छन । बस्ती कम भएकोले पुल हाल्न सकिदैन भन्छन ।’