फेरीले बदलियो कर्णालीपारिको जनजीवन

फेरीले बदलियो कर्णालीपारिको जनजीवन

बाजुरा। बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने कर्णाली नदीमा निर्माण गरिएको फेरीले यहाँका स्थानीयवासीको जनजीवन बदलिदिएको छ । फेरीले कर्णालीपारिको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीयलाई आवतजावतमा सहज बनाइदिएको छ । 

गाउँपालिकाका बासिन्दा कर्णाली नदी तरेर अछामको साँफेबगर र बाजुराको बार्जुगाड, तिपाडा, मार्तडी, दानसाँगु, कोल्टी र पीलिचौरसम्म पिठ्युँमा डोको र नाम्लो बोकेर दैनिक उपभोग्य सामग्री ल्याउन बाध्य थिए । 

स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकाको बिचमा रहेको कर्णाली नदीमा निर्माण गरिएको फेरीबाट मान्छे मात्र नभई सवारीसाधनसमेत वारपार हुन थालेपछि स्थानीयलाई आवतजावतमा सहज भएको हो । अब प्रत्येक गाउँबस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ । गाउँ गाउँमा मोटरसाइकल, ट्याक्टर र जिपलगायतका सवारीसाधन गुड्न थालेका छन् । 

सवारीसाधनमार्फत दैनिक उपभोग्य सामग्री ढुवानी तथा यातायात सहज भएको स्थानीय नरे लुहारले बताए। उहाँले भन्नुभयो, “पिठ्युँमा बोक्नुपर्ने दैनिक उपभोग्य सामग्री अहिले गाडीमै घरमा पुग्न थालेपछि निकै सहज भएको छ ।”

हिउँदमा नदीमा पानी बहाव कम हुँदा फेरी चल्ने र बर्खाको समयमा भने फेरी नचलेपछि समस्या उस्तै हुने गरेको लुहारले बताए । सडक सुविधाका कारण स्थानीयले उत्पादन गरेका कृषिजन्य सामग्रीसमेत स्थानीय बजारसम्म पुग्न थालेको छ । 

गाडी गाउँमै पुग्न थालेपछि अधिकांश स्थानीयले व्यापार व्यवसायमा गर्न थालेका छन् । गाडीबाट नै घरमा खाद्यान्न ढुवानी गर्न थालेका छन् । स्याउ र सुन्तला उत्पादनका लागि यो ठाउँ राम्रो भएकाले कृषि तथा फलफूल क्षेत्रमा आकर्षण बढेको छ । स्थानीय उत्पादन कागुनो, कोदो, झुमरो, सिमीलगायतका अर्गानिक खाद्य देशका विभिन्न सहरमा पुग्न थालेको छ । स्थानीयवासीले अब पक्की पुल निर्माणका लागि सरकारसँग आग्रह गरेका छन् । 

पक्की पुल बन्यो भने प्रत्येक गाउँ बस्तीमा बाह्रै महिना गाडी चल्न सहज हुने स्थानीय जिपचालक मानबहादुर रोकायाले बताए । फेरीका कारण सडक निर्माणमा सहज भएको र सडकले स्थानीयको जनजीवनलाई सहज बनाएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए । 

उनले सङ्घीय सरकारको १९ करोड लगानीमा हिमाली गाउँपालिका र स्वामिकार्तिक गाउँपालिका–४ को वाईस्थित चुल्लीगाडमा पुल निर्माणको तयारी भइरहेको जानकारी पनि दिए। चुल्लीगाडमा पक्की पुल निर्माण हुनेबित्तिकै थप गाउँबस्तीमा नियमित गाडी नियमित चल्न सक्ने अध्यक्ष रोकायाले बताए।  गोरखापत्रबाट