गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

गोठमा आगलागी हुँदा एक जनाको मृत्यु

बर्दिया । ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो । 

आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर जैसीको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । 

आगलागी भएपश्चात् स्थानीयबासीले धारा र मोटरको पानीबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । पछि नेपाल प्रहरी, नगर प्रहरीले टयाक्टरमा जडित पानी ट्याङ्करबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

मधुवन नगरपालिका दमकलको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीले राती ११ बजे आगो नियन्त्रणमा लिएका थिए ।