कैलालीमा हुलाकी सडक निर्माण कछुवा गतिमा, थपिएको समयमा पनि सकिएन काम

कैलालीमा हुलाकी सडक निर्माण कछुवा गतिमा, थपिएको समयमा पनि सकिएन काम

धनगढी । कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् ।  

पहिलो सम्झौताअनुसारको समय अघिल्लो वर्ष पुस महिनामा सकिएर फेरि एक वर्षका लागि थपिएको म्याद पनि गएको पुस मसान्तमै सकिएको छ । म्याद थपिएको एक वर्ष बितिसक्दा पनि सडक निर्माण सकिएको छैन । 

जिल्लामा हुलाकी राजमार्गअन्तर्गत दुईवटा सडक स्तरोन्नतिको काम भइरहेको छ । उत्तर–दक्षिण लम्की–खक्रौला सडक र पूर्वपश्चिम धनगढी–सत्ती सडकको स्तरोन्नतिको काम भइरहेको हो । लम्की–खक्रौला सडकको पहिलो खण्ड लम्कीबाट आठ किलोमिटरमात्र कालोपत्र भएको छ । बाँकी दुई खण्डको कालोपत्र गर्ने सुरु नै भएको छैन । अझै लम्की–खक्रौला सडकखण्डको २१ दशमलव सात किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । 

लम्की–खक्रौला सडकको अहिलेसम्मको प्रगति हेर्दा वित्तीयरूपमा ५४ प्रतिशत र भौतिकरूपमा ६० प्रतिशतमात्र पुगेको हुलाकी राजमार्ग निर्देशनालय धनगढीका सूचना अधिकारी बर्खबहादुर कठायतले बताए । ‘पहिलो प्याकेजमात्र सम्पन्न भएको छ । दोस्रो र तेस्रो प्याकेज निर्माण जारी छ’, उनले भने, ‘काममा ढिलाइ भएको हो ।’

त्यस्तै, सत्ती–धनगढी खण्डको पहिलो खण्ड धनगढी क्याम्पसचोकबाट सात किलोमिटर र त्यसपछि दोस्रो खण्डको पाँच किलोमिटर सडकमात्र अहिलेसम्म कालोपत्र भएर सकिएको छ । अन्य दुई खण्ड कालोपत्रको काम सुरु भएको छैन । सत्ती–धनगढी खण्डको ३१ दशमलव ५० किलोमिटर कालोपत्र गर्न बाँकी छ । यो प्रगति वित्तीय तथा भौतिकरूपमा करिब ६८ प्रतिशत पुगेको सूचना अधिकारी कठायतको भनाइ छ । 

‘यहाँ चारवटा प्याकेज हो, पहिलो प्याकेजको सात किलोमिटर कालोपत्र भइसक्यो’, उनले भने, ‘दोस्रो प्याकेज साढे पाँच किलोमिटर जति निर्माण भएको छ, अन्य निर्माण हुँदैछ ।’

लम्की–खक्रौला सडक तीन खण्ड र सत्ती–धनगढी सडक चार खण्डमा छुट्टाछुट्टै ठेक्का लागेको थियो । सत्ती–धनगढी खण्डको काम स्वच्छन्द जोशी जेभीले गरिरहेको छ । स्वच्छन्दका सञ्चालक गणेश जोशीका अनुसार सत्ती–धनगढी सडकखण्डको पहिलो खण्डको काम सकिएको हो । 

दोस्रो खण्डको पनि कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षभित्र वसन्तापूर्वको खण्ड सक्ने लक्ष्य छ । अन्य भजनीपूर्वको सडकको सतह तयार गर्ने काम भइरहेको छ । ‘अहिलेसम्म दुई प्याकेज सकियो, २० किलोमिटर तयारी छ । अब कालोपत्र गर्ने हो’, उनले भने, ‘तेस्रो खण्ड असार मसान्तसम्म सक्ने योजना छ ।’ 

लम्की–खक्रौला सडकको तीन खण्डमा भइरहेको काममध्ये पहिलो खण्ड सकिएको छ भने अन्य दुई खण्डको काम चालू अवस्थामा नै छ । तेस्रो खण्ड निर्माण कम्पनी रायमाझी गल्वा जगदम्वा जेभीकाअनुसार सडक निर्माण तीव्र गतिमा भइरहेको छ ।

आउँदो चैत १५ गतेदेखि कालोपत्र गर्न सुरु गर्ने र यो आर्थिक वर्षमा नौ किलोमिटर सडक कालोपत्र योजना रहेको छ । बाँकी साढे एक किलोमिटर सडक बाँकी रहने निर्माण कम्पनीका चन्द्र लम्सालले जानकारी दिए । ‘अब बेस लेन सुरु हुन्छ चैतबाट कालोपत्र सुरु गर्ने तयारी छ’, उनले भने, ‘यस वर्ष अस्नेहरीबाट बालुवाटारसम्म १५ किलोमिटर सक्ने योजना छ ।’ 

लम्की–खक्रौला खण्ड २९ दशमलव सात किलोमिटर र सत्ती–धनगढी खण्ड ४४ किलोमिटरको स्तरोन्नतिका लागि हुलाकी राजमार्ग निर्देशनालयले वि।सं २०७७ मा ३० महिनाको अवधिमा काम सक्नेगरी दुवै सडकको ठेक्का लगाएको थियो । यी सडक निर्माण सम्पन्न भएमा यहाँका नागरिकलाई धनगढी, टीकापुरलगायतका क्षेत्रमा यात्रा गर्न सहज हुनेछ । रासस