पुरैना तालको अतिक्रमित जग्गा खोजी कार्य सुरु

पुरैना तालको अतिक्रमित जग्गा खोजी कार्य सुरु

धनगढी।  स्थानीयको अतिक्रमणबाट अस्तित्व नै गुमाइसकेको पुरैना ताल र जग्गा खोजी कार्य सुरु भएको छ । कैलालीको भजनी नगरपालिका–७, चर्रास्थित सिमसार क्षेत्रमा एक दशकअघि पुरैना ताल रहेको थियो । उक्त ताललाई पुनर्जीवन दिन तालको क्षेत्र र जग्गा खोजी सुरु भएको हो । २०६४/ २०६५ सालमा आएको बाढीले ताल पुरिएको स्थानीयवासी बताउँछन् । त्यसपछि पनि पुरिँदै गएपछि स्थानीय किसानले अतिक्रमण गरी खेतीयोग्य जमिनमा परिणत गरेका हुन् । 

चर्रा र हिम्मतपुर गाउँका करिब एक सय किसानले ताल क्षेत्रको जग्गा अतिक्रमण गरेर उपभोग गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयसहित डिभिजन वन कार्यालय र स्थानीय सरोकारवालाहरूले तालको जग्गा खोजी अगाडि बढाएका हुन् । डिभिजन वन कार्यालय पहलमानपुरको आग्रहमा तालको जग्गा रेखाङ्कन कार्य भइरहेको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले जानकारी दिए । अतिक्रमित जग्गाको रेखाङ्कनका लागि नापी कार्यालयले दुई अमिन फिल्डमा खटाएको छ । 

वसन्ता कोरिडोर र भारतको दुधुवा नेसनल पार्कको कनेक्टिभिटी क्षेत्रमा रहेको पुरैना ताल विगतमा सारसको साथै विभिन्न प्रजातिका चराको बासस्थानका रूपमा रहेको थियो । सन् २००६ मा सो तालमा विभिन्न प्रजातिका नौ हजार ८२३ वटा चरा अभिलेख भएका थिए तर तालको अस्तित्व मेटिएपछि चरा पनि हराएका छन् । पुरैना ताललाई पुनः पहिलेको जस्तै चराको प्राकृतिक बसोबास स्थान बनाउने उद्देश्यका साथ पुनर्जीवन दिने प्रयासको थालनी गरिएको चौधरी बताउनुहुन्छ । ताल क्षेत्रको जग्गा सीमाङ्कन गरेर गुरुयोजनाका साथ संरक्षणको काम थाल्ने जनाइएको छ । 

अतिक्रमित ताल संरक्षणका लागि भजनी नगरपालिकासहित सरोकारवाला निकायले लिएको पहल सकारात्मक भएको वातावरण संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो । सारस चराको प्राकृतिक बासस्थान पुरैना ताललाई पुनर्जीवन दिन आवश्यक रहेको उनको भनाइ छ ।  गोरखापत्रबाट