नगर उद्यान निर्माण अन्योल

नगर उद्यान निर्माण अन्योल

धनगढी । वनले अनुमति नदिँदा कैलालीको लम्कीचुहा नगरपालिकामा मोहनलाल नगर उद्यान निर्माण कार्य अन्योल बनेको छ । 

रुख कटानको आदेश प्राप्त नभएपछि उद्यान निर्माणको कार्य अगाडि बढ्न नसकेको हो । सङ्घीय सरकारको ७० र स्थानीय सरकारको ३० प्रतिशत लगानी रहने गरी कुल कुल ९४ करोड लागतको मोहनलाल नगर उद्यान निर्माण कार्य २०७५ बाट सुरु गरिएको थियो । तर प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आइई) प्रतिवेदन पास नहुँदै काम थालिएपछि वनले अवरोध गरेको छ । 

वनले काम अगाडि बढाउन नदिएपछि लम्कीचुहा नगरपालिका–२ र ५ मा पर्ने मोहनलाल सामुदायिक वनभित्र उद्यान बनाउनका लागि दुई करोड ५२ लाख रुपियाँ खर्चेर निर्माण गरिएको चार वटा गेट र छ किलोमिटरमा लगाइएको तारजाली पर्खाल अलपत्र छ । निर्माण पर्खाल चर्किन थालेको छ । 

यसैगरी, तारजाली खिया लागेर केही ठाउँमा टुटफुटसमेत भइसकेको छ । लम्कीचुहा नगरपालिकाले टेण्डर गरेर पछि बेवास्ता गरेकाले उद्यान निर्माण कार्य अलपत्र परेको मोहनलाल सामुदायिक वनका अध्यक्ष बखतबहादुर विष्टले बताए । कानुनी प्रक्रिया पूरा र ठिक ढङ्गले रेखदेख गर्ने काम नभएका कारणले उद्यानको यो हविगत भएको उनको भनाइ छ । 

‘ठुलो बजेटको योजना भएका कारण यसमा केहीको लोभ पलायो’, अध्यक्ष विष्ट भन्छन, ‘तैपनि, विकास ठुलो कुरो हो भनेर त्यति बेला हामीले हस्तक्षेप गरेनौँ । तर, नगरपालिकाको कार्यालयले आफै टेण्डर गरेर आफै बेवास्ता ग¥यो ।’ 

मोहनलाल सामुदायिक वनमा नगर उद्यान निर्माण गर्दा ५५ वटा रुख काट्न आवश्यक रहेको जनाइएको छ । जुन रुख कटान गर्न र सामुदायिक वन क्षेत्रमा खनेर पोखरी निर्माणका लागि वनले नगरपालिकाको कार्यालयलाई हालसम्म अनुमति दिएको छैन । 

आइई नगरीकन काम गर्न नमिल्ने भन्दै वनले उद्यान निर्माणका लागि काम गर्न नदिएको लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले बताए । उद्यान निर्माणका लागि सबैभन्दा पहिले आइई रिपोर्ट पास हुनु पर्ने उनको भनाइ छ । 

‘मोहनलाल नगर उद्यान हाम्रो गौरवको योजना हो’, नगर प्रमुख शाहीले भने, ‘यसलाई बनाउनु पर्छ भनेर हामी लागि परेका छौँ ।’ मोहनलाल नगर उद्यान गौरवको योजना रहेकाले यसलाई नगरपालिकाले नै कार्यान्वयन गरेर सञ्चालनमा ल्याउनु पर्ने स्थानीय देवानन्द जैसीको भनाइ छ । ‘आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका लागि यो एउटा महत्त्वपूर्ण योजना हो’, उनले भने ।