सबै किसिमका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने गरी एउटा प्रस्ताव संसद्मा दर्ता

सबै किसिमका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने गरी एउटा प्रस्ताव संसद्मा दर्ता

पाकिस्तानमा सबै किसिमका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने गरी एउटा प्रस्ताव संसद्मा दर्ता भएको छ ।

पाकिस्तान पिपल्स पार्टीका सांसद बहरामन्द तांगीले संसद्मा पेस गर्नुभएको प्रस्तावमा फेसबुक, एक्स, युट्युब र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाउने माग रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रस्तावमा सामाजिक सञ्जालको नकारात्मक असरबाट युवा पुस्तालाई जोगाउन यसलाई प्रतिबन्ध लगाउनुपर्ने भनिएको छ । सामाजिक सञ्जालले देशको युवा पुस्तालाई नराम्ररी प्रभावित गरिरहेको अनि धर्म र संस्कृतिविरुद्ध सामाजिक सञ्जालको प्रयोग भइरहेको प्रस्तावमा उल्लेख छ ।

सामाजिक सञ्जालको प्रयोगले मानिसबीच भाषा र धर्मका आधारमा घृणा बढ्दै गएको दाबी गर्दै प्रस्तावमा रोक्नु उचित हुने भनिएको छ । केही समय अघि सम्पन्न आम चुनावमा सामाजिक सञ्जालको भूमिका बलियो देखिएको थियो ।

पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईमा सरकारी प्रतिबन्ध र दबाबको बाबजुद सामाजिक सञ्जालकै बलमा खान समर्थित उम्मेदवारहरु विजयी भएका चर्चाका बीच सामाजिक सञ्जाल माथि नै प्रतिबन्धको प्रस्ताव संसद्मा दर्ता भएको हो ।