महिलाको हत्या आरोपमा एक जना पक्राउ

महिलाको हत्या आरोपमा एक जना पक्राउ

बाँके । बाँकेमा एक जना महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको छ।

बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित बनकट्टीदेखि जिगाउँ जाने बाटो किनारामा एक जना महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरूषलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले जानकारी दिए।

शुक्रबार बिहान अन्दाजी ७ बजे उक्त स्थानमा वडा नम्बर ९ की बनगाई बस्ने २७ वर्षीय उर्मिला चौधरीको शव फेला परेको थियो। 

उनको शव फेला परेको खबरपछि प्रहरीको टोली घटनास्थलमा खटिएको थियो। 

उक्त टोलीले घटना शंकास्पद देखेसँगै अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानको क्रममा कोहलपुर नगरपालिका वडा नम्बर २ मुक्तिनगर बस्ने ४५ वर्षीय राम सिंह थारूलाई प्रहरीले पक्राउ गरेको हो। 

थारूले बिहीबार राति चौधरीको घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको हो। 

प्रहरीले थारूलाई पक्राउ गरी बाँके जिल्ला अदालतबाट पहिलो पटक दिन ५ (पाँच) हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान अघि बढाएको छ।