मोरङ किशोरी हत्या प्रकरण : हत्यामा संलग्न व्यक्ति सार्वजनिक

मोरङ किशोरी हत्या प्रकरण : हत्यामा संलग्न व्यक्ति सार्वजनिक

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलमा सोमबार राति भएको बालिका हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको अनुसन्धान टोलीले हत्यामा संलग्न मोरङको ग्रामथान–४ का ३८ वर्षीय धिरेनकुमार खाँ चौधरीलाई मोरङको बेलबारी–१० भाउन्नेबाट मंगलबार बिहान २ः३० बजे पक्राउ गरेको हो। पक्राउ परेका चौधरीलाई प्रहरी मङ्गलबार अपराह्न पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ।

खोटाङ जिल्लाको ऐंसेलुखर्क–६, सल्ले स्थायी घर भएर पथरीशनिश्चरे–७ लामाटोलमा फुपूको छोराको घरमा बस्दै आउनुभएकी १५ वर्षीया ज्ञानुमति थुलुङ राईको सोमबार राति साढे १० बजेतिर धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। पथरीशनिश्चरे १ को पञ्चायत नमुना माविमा कक्षा ७ मा पढ्दै आएकी ज्ञानुमतिको टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेको उनका दाजु विनोद राईले बताए। ज्ञानुमति २ वर्षयता दाजुले सञ्चालन गरेको होटल सुन्नीमामा काम सघाएर बस्दै आएकी थिइन।

राति शौचालयको गएको मौका पारेर धिरेनले ज्ञानुमतिलाई खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार धिरेनले गत असारमा ज्ञानुमतिलाई बिहे गर्ने भन्दै भारततर्फ लैजान खोजेका थिए। त्यसबेला माइती नेपालले उनको उद्धार गरी परिवारलाई जिम्मा लगाएको थियो।

मृतक किशोरीको नाममा फेसबुक, इन्स्टाग्राम, इमो लगायतमा आफै एकाउण्ट बनाई चौधरीले चलाउने र सोही माध्यमबाट बालिकालाई दुःख दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार चौधरीले आफू अविवाहित रहेको भनेर किशोरीलाई ढाँट्ने गरेका थिए।