शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । शेर्पा समुदायले आज ग्याल्पो ल्होसार मनाउँदैछन् । हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउदै आएका छन् ।

आज २१५१ औँ ग्याल्पो ल्होसार हो । आजदेखि गाई वर्ग ९वर्ष० पूरा भई बाघ वर्ष शुरु भएको छ । यो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका रूपमा मनाउन शुरु गरिएको उल्लेख छ । शेर्पा समुदायले ल्होसार पर्व तीन दिनसम्म मनाउने गर्छन् ।

पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरेर गुम्बामा जाने चलन छ । गुरुको दर्शन गर्ने तथा आशीर्वाद लिने परम्परा छ । अग्ला डाँडामा ध्वजापताका फहराउने पनि चलन छ । दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ ।

तेस्रो दिन यो समुदायका मानिस बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल ९भैरव, महाकाल आदि० को पूजा गर्छन् । पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाउन थालिएको छ । शेर्पा जातिको बसाइसराइसँगै पर्व पनि विस्तार हुँदै गएको छ ।

ग्याल्पो ल्होसारको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।