कर्णाली पुलमा आगलागीबाट आंशिकरूपमा क्षति, आवागमन बन्द

कर्णाली पुलमा आगलागीबाट आंशिकरूपमा क्षति, आवागमन बन्द

धनगढी । सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ ।

आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ । पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको हो ।

कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौँ तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न सबैलाई अग्रह गरिएको छ ।

कर्णालीको पुलमा सोमबार गुड्दै गरेको अवस्थामा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासी आगलागी भएको थियो । लम्कीचुहा, टीकापुर, घोडाघोडी र बर्दियाबाट आएको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो चार घण्टापछि राति ९ बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणपछि जलेको ट्रकसमेत राति नै लम्कीचुहा नगरपालिकाको डोजर प्रयोग गरी हटाइएको छ ।

आइतबार अपराह्न वीरगञ्जबाट लाइटर एक हजार एक सय कार्टुन लिएर हिँडेको ट्रक सोमबार सोमबार अपराह्न कर्णाली पुलमा पुगेको कञ्चनपुर कृष्णपुरका ३६ वर्षीय ट्रकचालक जगनाथ जोशीले बताएका छन् ।

आगलागी हुने क्रममा ट्रकमा चालक जोशी र सहचालक दार्चुला शैलेश्वरी–८ का २४ वर्षीय सहचालक धिरज जोशी रहेका थिए । दुवै जना सकुशल प्रहरीको नियन्त्रणमा छन् ।  ट्रक धनगढीका जयप्रकाश चौधरीको हो। आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट रु एक करोड १५ लाख ६८ हजारबराबरको ट्रकमा रहेको लाइटर जलेको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ ।