हङकङ टी-२० सिरिजको उपाधिका लागि नेपाल र पिएनजी भिड्ने

हङकङ टी-२० सिरिजको उपाधिका लागि नेपाल र पिएनजी भिड्ने

धनगढी। हङकङ मेन्स टी-२० सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच प्रतिस्पर्धा हुने भएको छ। फाइनल भिडन्त बुधबार नेपाली समयअनुसार पौने १२ बजे सुरू हुनेछ।

मंगलबार भएको दोस्रो खेलमा पिएनजीले घरेलु टिम हङकङलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेसँगै फाइनलमा भिड्ने दुई टिमको टुंगो लागेको हो। 

यसअघि मंगलबार नै नेपालले पिएनजीमाथि ८५ रनको जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो। 

नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल भने वर्षाका कारण रद्द हुँदा दुवै टिम अंक बाढ्न बाध्य भएका थिए। 

लिग चरणको खेल सकिदा नेपालले ३ अंक जोड्यो भने पिएनजीले २ अंक बटुल्यो। १ अंक जोडेको हङकङले तेस्रो स्थानका लागि हङकङ ‘ए’ सँग खेल्नेछ। 

मंगलबार हङकङले पिएनजीविरुद्ध पहिले ब्याटिङ गर्दा १८.३ ओभरमा १२१ रनमै अलआउट भएको थियो। उसका लागि जीशन अलीले नटआउट ५५ रन जोड्दा अरु ब्याटर चल्न सकेनन्। हङकङका ७ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

बलिङमा पिएनजीका काबुआ मोरिया, एलेइ नाओ, असद भाला र सेसे बाउले २-२ विकेट लिए। 

१२२ रनको लक्ष्य पिएनजीले विना विकेटको क्षतिमा पूरा गर्‍यो। पिएनजीका लागि टोनी उराले नटआउट ५१ रन र सेसे बाउले नटआउट ६१ रन जोडे।