राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालले शपथ लिए

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालले शपथ लिए

 राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासम आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दाहाललाई शपथ गराएका हुन् ।

मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

दाहाल पञ्चायतकालको उत्तरार्ध २०३२ सालदेखि राजनीतिमा निरन्तर छन् । २०३६ सालदेखि पूर्णकालीन राजनीतिमा सक्रिय भएका दाहाल २०५७ सालदेखि माओवादीको केन्द्रीय सदस्य छन् ।

दाहाल विस्तृत शान्ति सम्झौतापछि २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा सांसद थिए । २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए । २०७० को चुनावमा भने सोही क्षेत्रबाट पराजित भएका थिए ।