क्याप्टेन वेद उप्रेतीको  ‘भू-स्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि विमर्श

क्याप्टेन वेद उप्रेतीको  ‘भू-स्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तकमाथि विमर्श

धनगढी । क्याप्टेन वेद उप्रेतीको ‘दुर्गम विस्मयलोक् भू स्वर्गको परिकल्पना सुदूरपश्चिम नेपाल’ नामक पुस्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले उक्त पुस्तकमा विमर्श गरेका हुन् । 

उनले सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आवश्यक रहेको बताएका छन् । ‘हामीले पर्यटन क्षेत्रमा जति गर्न सक्नुपर्ने थियो त्यति गर्न सकेका छैनौँ’ शाहले भने । मुख्यमन्त्री शाहले भारतीय पर्यटकहरूलाई कुनै समस्या हुन नदिने र सुरक्षाको प्रत्याभूति समेत गराइने दाबी गरे ।मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई पर्यटनको क्षेत्रबाट अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

पुस्तक चर्चा चैतन्य पाठशालामा आयोजना गरिएको थियो । पाठशालाका सञ्चालक गणेश जोशीले पुस्तकले सुदूरपश्चिमको यथार्थता झल्काएको बताए । पुस्तकका लेखक वेद उप्रेतीले १० वर्ष लगाएर पुस्तक तयार गरिएको जानकारी दिएका थिए । 

उनले तीनै तहको सरकारले सुदूरपश्चिम प्रदेशको संवृद्धि र विकासमा जुट्न आग्रह गरेका थिए । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पर्यटकहरूलाई सबै भन्दा पहिले सुरक्षा आवश्यक रहेको बताए । उपप्राध्यापक सिताराम भट्टले पुस्तकको चर्चा गरेका थिए ।

नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदमविक्रम सिंह, कैलाली उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष दिनेश भण्डारी, सुदूरपश्चिम प्रदेश सभा सदस्य डा.तारा जोशी, प्र.डा.हेमराज पन्तले पर्यटन विकासको लागि भारतीय क्षेत्रका नागरिकहरूलाई जोड दिनुपर्ने सुझाव दिए ।

पुस्तकमा सुदूरपश्चिमको भौगोलिक अवस्था विकट भए पनि आफैँमा सुन्दर रहेको चित्रण गरिएको छ । नेपाली र अंग्रेजी दुवै भाषामा विषयवस्तुको वर्णन गरिएको यो पुस्तक बिक्रीबाट प्राप्त रकम वेद उप्रेती ट्रस्टमार्फत सुदूरपश्चिमका क्यान्सर बिरामीलाई सहयोग गरिने लेखक उप्रेतीले जानकारी दिए ।

पुस्तकमा सुदूरपश्चिमलाई समृद्ध र प्रगतिशील क्षेत्रका रूपमा विकास गर्न सकिन्छ भन्ने सन्देश दिने तस्बिर सहितका विवरण प्रस्तुत गरिएका छन् । १२० पृष्ठको पुस्तकमा लेखक उप्रेतीले विभिन्न समयमा कैद गरेका ९४ तस्बिर समावेश छन् ।