जिप दुर्घटनामा परि मृत्यु भएका दश जनाको सामुहिक अन्त्येष्टी

जिप दुर्घटनामा परि मृत्यु भएका दश जनाको सामुहिक अन्त्येष्टी

बझाङ : जिल्लामा हाल सम्मकै सबै भन्दा ठूलो जिप दुर्घटनामा परि मृत्यु भएका दश जनाको बुधबार सामुहिक अन्त्येष्टी गरिएको छ । दुर्घटनामा परेका जिप मालिक र मृतक परिबारको क्षतीपुर्तीका लागी सहमती भएपछि जिल्ला अस्पतालबाट शब बुझेर मृतकका आफन्तहरुले परम्परा अनुसार आफ्नो मसानघाँटमा दाहसंस्कार गरेका हुन् ।

जिल्ला अस्पताल सिमखेतबाट मृतक दश जनाको शब यात्रामा सदरमुकामबासी, मृतकका आफन्त र शुभचिन्तकको शब यात्रामा ठूलो भिडभाड थियो । दश जनाको लामबद्ध शब यात्रामा आफन्त र अन्य मानिसहरुको रुवाबासी थियो । शब यात्रामा भेटिएका स्थानीय रामचन्द्र रोकायाले भने ‘जिल्लामा यस्तो अप्रिय घटना कहिले पनि भएको थिएन र अब कहिले पनि यस्तो नहोस ।’

उनले यो घटनाबाट पाठ सिकेर अब यस्तो घटना दोहोरिन नदिन सरकारले निति बदल्नु पर्ने बताए । जिप दुर्घटनामा मृत्यु भएका एकै परिबारका बुवा कलक खड्का , आमा जुनधारा खड्कालाइ छोरा सन्देश खड्काले दागबत्ती दिएका थिए । सन्देशका भाई सारोज खड्का र बिपना खड्काको शब खाल्डोमा गाडिएको थियो ।

५० बर्षिया घौली देबी खड्का र छोरा हिक्मत खड्कालाई धौलीका श्रीमान् भारतवाट आएर दागबत्ती दिएका थिए । साथै मृतक जुना खड्कालाई पनि सोही मसानघाटमा उनका छोराले दागबत्ती दिएका थिए ।

कोटदेबल गाउँका मृतक सात जना र रनाडा गाँउमा मृतक २ जना गरि नौ जनाको सदरमुकाम चैनपुर पारिपट्टी धौलाबगर मसानघाँटमा सामुहिक अन्त्यष्टी गरिएको थियो । रनाडा गाउँका मृतक लक्ष्मी द्धाल र भक्त द्धालको पनि आफन्तहरुले दागबत्ती दिएर दाहसंस्कार गरेका थिए । नौ जनाको घौलाबगर मसानघाँटमा अन्त्यष्टी गरेको थियो भने जिपका चालक सुरेन्द्र थापाको भने जिनाडा गाउँको मसानघाँट कपडेमा अन्त्यष्टी गरिएको थियो ।

शब यात्रा देखि अन्त्येष्टी सम्म एक हजार भन्दा बढी मानिसहरुको सहभागिता थियो । अन्त्येष्टीमा भेटिएका कोटदेबल घर भएका फोन बहादुर खड्काले अबका दिनमा यस्ता घटना नहुन दिनका लागी सरकारी तहबाट र यातायात ब्यबसायिहरुले संबेदनसिल हुनुपर्ने धारणा राखे ।

मृतकहरुको दाहसंस्कार गर्ने स्थल सदरमुकाम चैनपुरको पारि पट्टी नजिकै भएकाले जनप्रतिनिधीहरु, पार्टीका नेताहरु, राष्ट्रसेबक कर्मचारीहरु समेत सहभागी थिए । प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले यो घटनाले आपुलाई साह्रै दुख लागेको बताउँदै अबका दिनमा यस्तो घटना नहोरिनका लागी आफुले जिल्ला भरिका सबै यातायत ब्यबसायिहरु, चालकहरु , सरोकारबालाहरुलाई बोलाएर ट्राफिक नियमको पालना गर्नुपर्ने, कानुन बिपरित सञ्चालन भएका सबारी साधनलाई रोक लगाउने बताए

यो घटनाले जिल्ला नै शोकाकुल भएपछि मष्टा गाउँपालिकाले आज औपचारिक रुपमा गाउँपालिका भित्र सार्बजनिक बिदा दिएको छ । मृतक परिबारको क्षतीपुर्तीका लागी जिप मालिकले मृतक परिवारलाई तिन तिन लाखका दरले क्षतिपुर्ति दिने सहमती भएको छ । जिप दुर्घटनामा परि घाईते भएका पाँच जनाहरुको स्वास्थ्यमा सुधार हुदै गएको घाईतेका आफन्तहरुले जानकारी दिएका छन् । उहाँहरुको नेपालगञ्जमा उपचार भई रहेको छ ।