सिकलसेल रोग पीडितहरुको सस्तो औषधी मात्रै नि:शुल्क पाउने गरेको गुनासो

सिकलसेल रोग पीडितहरुको सस्तो औषधी मात्रै नि:शुल्क पाउने गरेको गुनासो

धनगढी : कैलाली र कञ्चरपुरका सिकलसेल एनिमियाका बिरामीले सरकारले दिने भनेको निशुल्क उपचार नपाएको गुनासो गरेका छन । सरकारले निःशुल्क उपचारको प्रवन्ध गरेको बताए पनि सम्पुर्ण उपचारको खर्च आफै ब्यहोर्नु परेकोे उनीहरुले बताएका छन ।

सिकलसेल एनिमियाका विरामीहरूलाई सरकारले उपचारका लागि भनेर एक लाख बराबरको औषधी उपलब्ध गराई रहेको छ । तर सरकारले उपचार निःशुल्क भने पनि महङगो औषधी आफै किन्नु परेको र सस्तो औषधी मात्र निःशुल्क पाइने गरेको उनीहरुले बताएका छन ।

बशांणुगत गुणका आधारमा थारु समुदायमा देखा पर्ने गरेको सिकलसेल एनिमिया रोगको उपचार निःशुल्क हुने भए पनि कतिपय बिरामीहरुले महङगो पैसा तिरेर उपचार गरिरहेका छन । सिकलसेल एनिमिया पत्ता लागेको चार बर्ष हुदाँ सम्म पनि सरकारले दिने भनेको एक लाख उपचार खर्च नपाएको कञ्चनपुरका राम कुमार चौधरीले बताउनुभयो ।

आफ्नो श्रीमतीको लागी औषधी लिन आउदाँ सस्तो औषधी निःशुल्क दिने गरेको तर महङगो औषधी आफै किन्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । सरकारले सस्तो, सुलभ र विभिन्न अस्पताल बाट सेवा लिन पाउने व्यवस्था मिलाउनु पर्ने उनीहरुले माग गरेका छन ।

सिकलसेल रोगका कारण आफुहरु रातभरी सुत्न समेत नपाउने बिरामीहरुले बताएका छन । नियमित उपचार गराउनुपर्ने भएकाले सरकारी राहत अपर्याप्त हुने गरेको अधिकांश सिकलसेलका विरामीहरुले गुनासो गरेका छन् । आफुहरुलाई तीन–तीन महिनामा रगत चाहिने हुदाँ रगतको समेत सरकारले व्यवस्था मिलाई दिनु पर्ने उनीहरुले माग गरेका छन ।

यो रोग बंशाणुगत भएकाले अधिकांस सबै घरका सदस्यलाई हुने सम्भावना रहने गरेको छ । सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा यो रोगको बढी प्रभाव रहेको छ । आफ्नो परिवारमा चार जना सदस्यलाई यो रोग देखा परेको सिकलसेल नेपालका अध्यक्ष सुरेश कठरियाले बताउनुभयो ।

घोडाघोडी अस्पतालमा १ सय २२ जना भन्दा बढीले यो रोगको उपचार गराईरहेको उहाँले बताउनुभयो । यो रोग न्युनिकरणका लागि जनसमुदायमा जनचेतना जगाउनु पर्ने उहाँले बताउनुभयो । सेती अस्पतालमा हालसम्म ५ सय ४४ जना भन्दा बढी सिकलसेलका बिरामीहरूले उपचार गराई रहेका छन ।

पश्चिम तराइका अधिकांश थारु समुदायमा यो रोगको संक्रमण देखा परेको छ । सबै भन्दा बढी कैलाली र कञ्चनपुरका बिरामी बढी छन । बिरामीहरुले अस्पतालमा औषधी नपाउने गरेको बताए पनि सबै बिरामीहरुलाई औषधी उपलब्ध गराईरहेको तर कहिले काहीँ अस्पतालमा औषधी नभएका बेला उपलब्ध गराउन नसकिएको सेती अञ्चल अस्पतालको सामाजिक सेवा इकाईका प्रमुख गौरीदत्त जोशीले बताउनुभयो । 

दुईपटक चेक जाँच गर्दैमा १ लाख भन्दा बढी खर्च आउने गरेको बिरामीहरुले बताएका छन । टाढा पुग्दा उपचारमा असहजता उत्पन्न हुने गरेकाले स्थानीय स्तरमै उपचारको व्यवस्था गरिदिन उनीहरुले आग्रह गरेका छन् ।

वंशाणुगत रूपमा सर्ने सिकलसेल भएका व्यक्तिमा शरीर दुख्ने, हाडजोर्नी दुख्ने, कमलपित्त, रक्तअल्पता, रिंगटा लाग्ने, कमजोर हुने लगायतका समस्या देखिने गर्दछ । जसले गर्दा काम गर्न गाह्रो भइ दैनिकी गुजार्न समेत मुस्किल पर्ने भएकाले सरकारी राहत बढाउनु पर्ने विरामीले आग्रह छन ।