होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । 

होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरे ।

उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले हिमाली, पहाडी तथा भित्री मधेस, काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा विभिन्न रङ र अबिर खेल्दै खुसीयालीसाथ मनाउने यस पर्वको परम्पराबारे उल्लेख गर्दै होलीमा खेलिने विविध रङजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गरे ।

उनले यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्नेमा जोड दिएका छन् ।