मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु

मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु

रामेछाप । मौसम खुलेपछि मन्थली–लुक्ला उडान पुनः सुरु भएको छ । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा प्रतिकूल मौसमका कारण विमान उडाइएको थिएन ।

लुक्लामा प्रतिकूल मौसमका कारण सीता, तारा र समिट एयरका विमान मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ थिए । सो अवधिमा निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी पर्यटकलाई हेलिकोप्टरमार्फत सोलुकै सुर्केमा पुर्‍याइएको थियो । सडकमार्गबाट सोलुको फाप्लुसम्म लैजाने गरिएको थियो ।

आइतबार (आज) बिहान ६ बजेदेखि मौसम खुलेका कारण उडान सुरु भएको तारा एयर रामेछापका इन्चार्ज प्रवीण सुवेदीले बताए ।

मौसम खुलेपछि बिहानैदेखि काठमाडौंबाट सडकमार्ग हुँदै विदेशी पर्यटक मन्थली ल्याउने क्रम जारी छ । लुक्लाको मौसमले साथ दिएसम्म आज दिनभर विमान आलोपालो प्रणालीद्वारा मन्थलीबाट लुक्ला उडान भरिरहने नागरिक उड्डयन प्राधिकरण रामेछापका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईंले बताए ।