रेशमले डाकेको पार्टी बैठकलाई खारेज गरिदिइन रञ्जिताको दाबी

रेशमले डाकेको पार्टी बैठकलाई खारेज गरिदिइन रञ्जिताको दाबी

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले यही चैत २३ र २४ गते बोलाइएको भनिएको केन्द्रीय सदस्य तथा पदाधिकारी बैठक लाई खारेज गरिदिएकी छन्।
पार्टीका संरक्षक रेशम चौधरीले आह्वान गरिएको उक्त बैठक आधिकारिक नभएको जानकारी अध्यक्ष श्रेष्ठले मंगलबार एक वक्तव्यमार्फत दिएकी हुन्।

२०८० चैत २३ र २४ गते केन्द्रीय सदस्य तथा पदाधिकारीज्यूहरूसहितको भनिएको नागरिक उन्मुक्ति पार्टीको बैठक आधिकारिक होइन’, उनले मंगलबार भनेकी छन्।

फागुन २१ गते एमाले र माओवादीसहितको गठबन्धन बनेपछि नाउपामा विवाद चुलिएको छ। नाउपा अध्यक्ष श्रेष्ठ र संरक्षक चौधरीबीचको कलहले पार्टी विभाजनको संघारमा पुगेको छ। यस्तोमा रेशमले डाकेको बैठकलाई उनकी पत्नीसमेत रहेकी रञ्जिताले खारेज गरिदिएकी हुन्।

पार्टीमा विवाद चुलिँदै गर्दा रेशम र रञ्जिताबीच बोलचालको अवस्थासमेत छैन। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनीहरू अलग अलग बालुवाटार छिरेका थिए। 


एक अर्को पक्षलाई आरोप–प्रत्यारोप गरिरहँदा सोमबार अनामनगरमा बसेको पार्टी केन्द्रीय समिति बैठकमा रेशम पक्षका नेताले रञ्जिता पक्षका नेतालाई कुटपिट गरेका थिए।
यसअघि रेशमनिकट मानिएका नाउपा महासचिव गंगाराम चौधरीले पदाधिकारी र केन्द्रीय सदस्यको डाकिएको भन्दै विज्ञप्ति निकालेका थिए। 

निर्वाचन आयोगले प्रथम महाधिवेशनलाई अवैधानिक घोषणा गर्दै अध्यक्षमा निर्वाचित रेशमको पद खारेज गरेर उक्त पदमा रञ्जितालाई नै फर्काइदिएको छ। त्यसयता पति(पत्नीबीच राजनीतिक मैदानमा घमासान चलिरहेको छ।