विद्युतीय गाडीमा लाग्ने आगो निभाउन बेलायतमा अग्नि नियन्त्रकलाई विशेष तालिम

विद्युतीय गाडीमा लाग्ने आगो निभाउन बेलायतमा अग्नि नियन्त्रकलाई विशेष तालिम

बेलायतको अग्नि नियन्त्रण तथा आपत्कालीन उद्धार सेवाले आफ्ना कर्मचारीलाई विद्युतीय गाडीमा हुने आगलागी नियन्त्रणका लागि विशेष तालिम दिन थालेको छ । बेलायतमा विद्युतीय गाडीको प्रयोगसँगै आगलागीका घटना बढेर १० लाखभन्दा धेरै पुगेपछि नियन्त्रणका लागि तालिम दिएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विद्युतीय गाडीमा हुने आगलागीका घटना बिरलै हुने भए पनि त्यस्ता घटनाले पेट्रोलियम इन्धनबाट चल्ने गाडीको तुलनामा भिन्नै खाले चुनौती खडा गर्ने बेलायतको एक अग्नि नियन्त्रण कार्यालयका स्टेशन म्यानेजर टेरि मेहरले बताउनुभएको छ । विद्युतीय गाडीमा हुने आगलागी ब्याट्रीका कारण हुने भएकाले आगो निभाउन ब्याट्रीसम्म पुग्न गाह्रो हुन्छ ।

यस्तै विद्युतीय गाडीमा लागेको आगोले एकै दिशामा आगोको ठूलो ज्वाला फैलाउन सक्ने र विस्फोटन पनि गराउन सक्ने जोखिम हुन्छ । विद्युतीय गाडीमा लागेको आगोले हावामा विभिन्न प्रकारका हानिकारक पदार्थ फैलाउनुका साथै त्यसलाई निभाउन पानीको प्रयोग भएमा बगेर जाने पानी पनि विषाक्त हुने बीबीसीको खबरमा उल्लेख छ । आगो लागिरहेको गाडीलाई अन्यत्र सार्दा पनि जोखिम हुने भएकाले जहाँ आगो लागेको छ त्यो ठाउँलाई सुरक्षित बनाएर आगो आफैँ निभ्न दिनु सबैभन्दा राम्रो विकल्प हुने बेलायतका अग्नि नियन्त्रक टेरि मेहरले बताउनुभएको छ ।

सामान्यतया पेट्रोलियम इन्धनबाट चल्ने गाडीमा आगो लाग्दा ३० मिनेटमा निभाउन सक्ने भए पनि विद्युतीय गाडीमा आगो लागेमा निभाउन चाररपाँच घण्टा लाग्ने मेहरले बताउनुभयो । उहाँले विशेषगरी विद्युतीय गाडी पार्किङ गर्दा अरू गाडीसँग दुरी कायम गरेर मात्रै राख्न सुझाव दिनुभएको छ ।