राष्ट्रिय सभा बैठकमा आज उपाध्यक्षको निर्वाचन मिति तोकिने

राष्ट्रिय सभा बैठकमा आज उपाध्यक्षको निर्वाचन मिति तोकिने

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा बुधबार उपाध्यक्ष पदको निर्वाचन मिति तोक्ने कार्यसूची छ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। 

नयाँ सत्ता गठबन्धनबीच भएको सहमतिअनुसार अध्यक्ष माओवादी केन्द्रले लिएपछि उपाध्यक्ष अन्य दलबाट बनाइन लागेको हो। पहिले भएको सहमतिमा उपाध्यक्ष पद एमालेलाई दिने भनिएको थियो।

एकीकृत समाजवादी गठबन्धनमा सहभागी भएपछि यो विषय सहमतिबाट हटाइएको थियो। एकीकृत समाजवादीले उपाध्यक्ष पद आफूले पाउनुपर्ने माग राखेको छ। 

राष्ट्रिय सभाको बुधबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ। 

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।