वीरगञ्जबाट ५० लाखको तस्करीको सामानसहित ट्रक नियन्त्रणमा

वीरगञ्जबाट ५० लाखको तस्करीको सामानसहित ट्रक नियन्त्रणमा

प्रहरीले वीरगन्जबाट तस्करीको आशंकामा ५० लाख रुपैयाँ मूल्यको सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।  विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ५० लाख १२ हजार १८० रुपैयाँ मुल्यको कपडा,औषधि,चिनी,सुर्तीलगायतका सामानसहित ना ८ ख ३५४९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । 

गत सोमबार वीरगन्ज महानगरपालिका वडा नम्बर १२ स्थित पावर हाउस चोकमा ना ८ ख ३५४९ नम्बरको ट्रक रोकेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त ट्रकबाट राजश्व छलेर ल्याइएको ४१ लाख ९३हजार १० रुपैयाँ मुल्यको कपडा र खुद्रा सामानहरू बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए । उक्त सामानसहितको ट्रक आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जानकारी उनले दिए।

यस्तै गत सोमबार नै बेलुकी वीरगन्ज महानगरपालिका वडा नम्बर १६  रजतजयन्ती चोकमा भारतबाट भन्सार राजश्व छलेर चोरी पैठारी गरी ल्याउँदै गरेको ८ लाख १९ हजार १७० रुपैयाँ मूल्यको कपडा,चिनी, सुर्ती तथा औषधि बरामद गरिएको थापाले बताए । 

ती सामानहरू आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।