शिक्षक नै राजनीतिमा लाग्दा शिक्षाको गुणस्तर डामाडोल

शिक्षक नै राजनीतिमा लाग्दा शिक्षाको गुणस्तर डामाडोल

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले शिक्षकलाई सक्रिय राजनीतिमा लगाउँदा गुणस्तरीय शिक्षामा बाधा हुने बताउनुभएको छ ।

समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० का सन्दर्भमा शिक्षा पत्रकार समाज र शिक्षा विकास तथा नीति अभ्यास केन्द्र सिइपिपी का तर्फबाट सुझाव प्रतिवेदन ग्रहण गर्दै सभापति थापाले कुनै काम नपाउँदा शिक्षक हुने र शिक्षक भएपछि राजनीतिमा लाग्ने प्रवृत्ति गलत भएको बताउनुभयो । उहाँले उक्त विधेयकममा प्राप्त सबै पक्षका राम्रा सुझावलाई अध्ययन गरी संशोधनका क्रममा विचार गरिने विश्वास दिलाउनुभयो ।

शिक्षा विश्लेषक टीका भट्टराईले संविधानको मर्म, भावना र मौलिक हकको प्रभावकारी कार्यान्वयन भई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने गरी विधेयक आउनुपर्नेमा जोड दिनुभयो । समितिका सदस्य एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, समितिका सदस्य दीपा शर्मा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सुरेश अधिकारीसमेत सहभागी सो अवसरमा समाजका अध्यक्ष प्रकाश सिलवालले विधेयकलाई संविधानको प्रस्तवनामा उल्लेखिल समाजवादोन्मुख व्यवस्थाअनुरुप विधेयक ल्याइनुपर्ने सुझावसहितको प्रतिवेदन सभापति थापालाई हस्तान्तरण गर्नुभएको थियो ।

यसैबीच समितिमा उक्त विधेयकमाथि संशोधनकर्ता सदस्यसँगको आजको छलफल शिक्षामन्त्री सुमना श्रेष्ठको कार्यव्यवस्तताका कारण स्थगन भएको छ । समितिको बैठकको समयमा मन्त्रिपरिषद्को बैठक परेकाले मन्त्री श्रेष्ठ अनुपस्थित हुनुभएको जनाइएको छ ।