बझाङका एसईई परीक्षार्थीमाथि कुटपिट चार जना घाइते

बझाङका  एसईई परीक्षार्थीमाथि कुटपिट चार जना घाइते

बझाङका छुट्टाछुट्टै तीन परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको छ । शुक्रबार बिहान परीक्षा दिएर बाहिर निस्किएपछि जिल्लाका तीन वटा परीक्षा केन्द्रमा एसईई परीक्षार्थीबिच झडप भएको हो । झडपमा ४ जना घाइते भएका छन् ।
 
खप्तडछान्ना गाउँपालिका– ५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षीय खप्पिस थापालाई स्थानीय बाल्केश सिंह, आनन्द सिंह लगायत ३–४ जनाको समूहले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट थापाको पेट  टाउको र हातमा चोट लागेको छ । चक्कु प्रहार गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 
यसैबिच जिल्लाको दुर्गाथली गाउँपालिका– १ मौरीबगडस्थित चौधारी मावि जुँजी परीक्षा केन्द्रमा पनि परीक्षार्थीबिच झडप भएको छ । परीक्षा दिएर घर फर्किरहेका छविसपाथिभेरा गाउँपालिका– १ का १८ वर्षीय अभिषेक भण्डारी र खप्तडछान्ना गाउँपालिका– २ का १८ वर्षीय विमल बोगटीमाथि कुटपिट भएको हो ।

भण्डारी र बोगटीलाई कुटपिट गर्ने दुर्गाथली गाउँपालिका– १ का २७ वर्षीय प्रकाश खाती लगायत युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीले बताउनुभयो ।
 
यता मष्टा गाउँपालिका– ६ भातेखोलास्थीत कुलमष्टजन माविको परीक्षा केन्द्रमा पनि एक परीक्षार्थी माथि कुटपिट भएको छ । परीक्षा दिएर बाहिर निस्किने क्रममा १७ वर्षीय मुन्न बोहरालाई मष्टा गाउँपालिका– ५ का बादल र विमल बुढा लगायत ५–६ जनाको समूहले कुटपिट गरेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । कुटपिटमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।