कतारका राजा नेपाल भ्रमणमा आउने

कतारका राजा नेपाल भ्रमणमा आउने

कतारका राजा शेख तामिम विन हमद अल थानी अप्रिल तेस्रो साता नेपाल भ्रमणमा आउने तय भएसँगै मन्त्रालयहरू सम्झौताको खाका तय पार्न व्यस्त छन् । परराष्ट्र मन्त्रालयले अय मन्त्रालयसँग सम्झौताका विषयवस्तु र मन्त्रालयका आवश्यकताहरूबारे राय मागेको छ । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अप्रिल २३ मा आएर २४ मा फर्किने वा २४ मा आएर २५ मा फर्किनगरी दुवै मितिको बारेमा छलफल भएको छ । कतार नेपालीहरूको श्रम बजार रहेकाले त्यहाँको राजाको भ्रमणलाई उच्च महत्व दिइएको छ । भ्रमणका क्रममा केही सम्झौतामा हस्ताक्षरको तयारीसमेत छ ।

कतारले नेपालको खेल क्षेत्र र त्यसमा पनि फुटबलमा लगानी गर्ने गरेको छ । खेलकुद मन्त्रालयले पूर्वाधार मूख्य शहरभन्दा बाहिर बनाउने गरी सम्झौताको तयारी गरेको छ । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पूर्वाधार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नजिक हुनेगरी स्थान हेर्न निर्देशन दिएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्वाधारमा लगानी गर्ने उनको चाहना छ । 

कतारले विश्वकप फुटबल २०२२ को एउटा रंगशाला पोट्रेबल रहेको र नेपाली श्रमिकको सम्मानमा रंगशाला नेपाललाई हस्तान्तरण गर्ने बताएको थियो । त्यसबारे पनि राजा थानीको भ्रमणका दौरानमा कुरा हुनेछ । सो रंगशाला कहाँ राख्ने भन्ने विषयमा पनि खेलकुद मन्त्रालयमा छलफल भएको छ ।