तनहुँस्थित मुसेखोलाको सडक भासियो वैकल्पिक मार्गबाट यातायात सञ्चालन

तनहुँस्थित मुसेखोलाको सडक भासियो वैकल्पिक मार्गबाट यातायात सञ्चालन

पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलामा सडकमाथिको जमिन भासिँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । गण्डकी प्रदेशको लाइफलाइन को रुपमा रहेको पृथ्वीराजमार्ग विस्तारको क्रममा शुक्रबार बिहान ११स्३० बजे सडकमाथिको जमिन भासिँदा पहिरोको जोखिम बढेको हो ।

पहिरोको जोखिम बढेपछि घाँसीकुवा–तालघरे सडक खण्ड अवरुद्ध गरिएको छ । मुसेखोला नजिकै भित्तो कटान गर्दा करिब ७२ मिटर माथिबाट पहाडै खस्ने जोखिम बढेको छ । विस्तारको क्रममा सडक माथिबाट जमिन चिरा परेकाले वैकल्पिक मार्ग प्रयोग गरी दिउँसोबाट यातायात सुचारु गरिएको आँवुखैरेनीजामुने सडक विस्तार योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए ।

यस्तै जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै मुसेखोला क्षेत्रमा सडक खण्ड विस्ताका क्रममा सडकको अन्दाजी ७२ मिटर माथिबाट अन्दाजी एक सय मिटर जमिन चिरा परेको र जुनसकै बेला पहिरो खस्न सक्ने र ढुंगा माटो झरिरहेकाले सबै सवारीसाधन तालघरेबाट रानीगाउँ हुँदै घाँसीकुवा निस्कने भित्री सडक खण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गरी आवगमन गर्नुहुन अनुरोध गरेको छ ।