दक्षिण कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री

दक्षिण कोरिया भ्रमणको तयारीमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाको भ्रमण गर्ने बताएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाई गर्दै उनले यस्तो बताएका हुन् । 

उनले राष्ट्रसंघको अधिवेशनको समयमा कोरियाका राष्ट्रपति योन सुक योलसँगको भेटमा दुई देशको सम्बन्धलाई अझ बलियो बनाउने र सहयोगको क्षेत्रलाई अझ विस्तार गर्नेकुरामा छलफल भएको बताए । सोही समयमा दक्षिण कोरियका राष्ट्रपति योलले भ्रमणको निम्तो दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले निमन्त्रणालाई स्वीकार गरेर कोरिया जाने तयारीमा रहेको बताए । 

उनले दक्षिण कोरिया र नेपालको औपचारिक सम्बन्धको ५० वर्ष पुगेको अवसरमा संयुक्त आरोहणले नेपाल र कोरियाको सम्बन्धलाई अझ सुदृढ बनाउने र पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका खेल्ने बताए ।