रास्वपा आएपछि कांग्रेसका युवा नेताहरू आफ्नो पालो नआउने डरले छटपटिएका छन् : श्रममन्त्री अर्याल

रास्वपा आएपछि कांग्रेसका युवा नेताहरू आफ्नो पालो नआउने डरले छटपटिएका छन् : श्रममन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपा आएपछि कांग्रेसका युवा नेताहरूलाई छटपटी भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले देशको नेतृत्व गर्न कांग्रेसमा पालो कुरेर बसेका युवा नेताहरू रास्वपा आएपछि आफ्नो पालो नआउने डरले छटपटाएको बताएका हुन्।

‘उहाँहरुलाई कांग्रेसमा एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ भन्ने थियो। तर रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भनेर उहाँहरुमा छटपटी भएको छ,’ मन्त्री अर्यालले भने।

त्यही पीरले अहिले कांग्रेसका युवा नेताहरू रास्वपाको विरोध गरिरहेको उनले बताए। उनले जनताले भोट हाल्न राम्रो काम गर्नुपर्ने बताए।

लोकतन्त्रमा बोल्न पाउने अधिकार भएपनि कांग्रेसले रास्वपालाई बोल्नै नदिएको मन्त्री अर्यालले बताए।

‘तपाईले मात्रै बोल्ने लोकतन्त्र त भन्नुभएको होइन होला । तपाईले प्रश्न नै प्रश्न गर्नुभयो, गाली नै गाली गर्नुभयो, अब तपाईहरुले यतिसम्म गर्नुभयो की कहाँ के बोल्नुहुन्छ भन्ने बिर्सिनुभयो, त्यस कारणले म त्यो सम्झाइदिन्छु, मेरा कमी कमजोरी के हो, मेरो मुखबाट उत्तर दिने मौका दिनुपर्छ,’ उनले भने।

मन्त्री अर्यालले आफूले सहकारीमा २३ लाख रूपैयाँ लगानी गरेको तर त्यो पैसा अझैसम्म उठाउन नसकेको बताए।पैसा उठाइदिने लाई अलिअलि दिने घोषणासमेत मन्त्री अर्यालले गरे। 

‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थेँ,’उनले भने।