सुदूरपश्चिमका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, ब्यवस्थापनमा समस्या

सुदूरपश्चिमका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, ब्यवस्थापनमा समस्या

धनगढी । शुक्रबार कारागार कार्यालय बाजुराले ६ जना कैदीलाई डोटी सरुवा ग¥यो । २५ जनाको मात्रै क्षमता भएको बाजुरा कारागारमा तेब्बरभन्दा बढी ७८ जना कैदीबन्दी पुगेपछि सरुवा गर्नुपरेको कारागार कार्यालयले जनायो ।

‘हाम्रो कारागारको क्षमता २५ जनाको मात्रै हो । तर, ७८ जना पुगे’, कारागार प्रमुख अनिलकुमार तिवारीले भने, ‘६ जना डोटी पठाएपछि पनि ७२ जना कारागारमै छन् ।’उनका अनुसार ७२ मध्ये २९ थुनुवा र ४३ कैदी छन् । उनले व्यवस्थापन गर्नै नसक्ने भएपछि सार्नु परेको बताए ।

डोटी कारागारको चाप पनि बाजुराको भन्दा कम छैन । ‘६७ जना पहिल्यै थिए । ७ बाजुराबाट सरुवा भई आएपछि ७३ जना पुगेका छन्’, डोटी कारागार कार्यालयका कर्मचारी डम्मर बोहराले भने, ‘६० कैदी र १३ थुनुवा छन् ।’उनका अनुसार कारागारको क्षमता २५ जनाको मात्रै हो । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि आँगन र ग्यालरीमा सुताउनु पर्ने अवस्था रहेको कारागार कार्यालयले जनाएको छ ।क्षमताभन्दा बढी कैदीबन्दीको समस्या डोटी र बाजुराको मात्रै हैन, सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाले यो समस्या भोगिरहेका छन् । १५० जनाको क्षमता भएको कैलाली कारागारमा ७३३ कैदीबन्दी छन् ।

६८० पुरुष र ५१ महिला कैदीबन्दी रहेको र २ दुई जना आश्रित रहेकोमा ३९८ कैदी र ३३३ थुनुवा रहेको कारागार कार्यालयका निमित्त प्रमुख ज्ञानेन्द्र ओझाले बताए ।कञ्चनपुर कारागारको अवस्था पनि उस्तै छ । ‘पहिले त ९५ जनाको मात्रै क्षमता हो, अहिले नयाँ भवन बनेको छ । तर, क्षमता निर्धारण भएको छैन’, कारागार प्रमुख मायाकुमारी बस्नेत थापा भन्छिन्, ‘बढीमा २०० जनाकै क्षमता होला ।’हाल कारागारमा ५४४ जना कैदीबन्दी रहेको उनी बताउँछिन् । उनका अनुसार कारागारमा ५२२ पुरुष र २२ महिला कैदीबन्दी छन् ।

५० पुरुष र २५ महिला गरी ७५ जनाको क्षमता रहेको अछाम कारागारमा अहिले ८७ जना कैदीबन्दी छन् । बझाङ्ग कारागारमा पुरुषका लागि नयाँ भवन बन्दैछ । २५ जना क्षमताको महिला कैदीबन्दीका लागि बनेको भवनमा पुरुषलाई राख्ने गरिएको कारागार प्रमुख धनबहादुर घर्तीमगर बताउँछन् ।‘पुरुषका लागि नयाँ भवन बनिरहेको छ । तबसम्म पुरुषलाई महिलाको भवनमा राखिएको छ’, उनी भन्छन्, ‘महिलाहरुलाई डडेल्धुरा पठाउने गरेका छौं ।’

२५ महिला र १०० पुरुषको क्षमता रहेको डडेल्धुरा कारागारमा १२ महिला र १३२ पुरुष रहेको कारागार प्रमुख सन्तोष भट्टले जानकारी दिए । भट्टका अनुसार हाल १२० पुरुष र १० महिला कैदी छन् । जमसमा १२ पुरुष र दुई महिला थुनुवा छन् ।२५ जनाको क्षमता रहेको बैतडी कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी छन् । कारागार प्रमुख कृष्णबहादुर चन्दका अनुसार १० थुनुवा र ६९ कैदी गरी ७९ जना छन् । धेरै कैदीबन्दी भएका कारण व्यवस्थापन गर्नै समस्या भएको उनको भनाइ छ ।१५ महिला र २५ पुरुषको क्षमता रहेको दार्चुला कारागारमा हाल एक महिला र ६१ पुरुष कैदीबन्दी छन् ।‘घटबढ भइरहन्छ, कहिलेकाहीं ८० सम्म पनि पुग्छ, कहिले ५० मा पनि झर्छ’, कारागार प्रमुख रामराज पन्त भन्छन्, ‘महिलाको संख्या त क्षमताभन्दा कमै हुन्छ । तर, पुरुष कैदीबन्दी धेरै हुन्छन् ।’ नेपाल प्रेसबाट