खलंगामा पूर्वराजाको सम्बोधन- सर्वपक्षीय सम्मेलन र नयाँ सम्झौताको पक्षमा जनमत बढ्दो छ

खलंगामा पूर्वराजाको सम्बोधन- सर्वपक्षीय सम्मेलन र नयाँ सम्झौताको पक्षमा जनमत बढ्दो छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा सर्वपक्षीय सम्मेलन र नयाँ सम्झौताको पक्षमा जनमत बढेको बताएका छन् ।

जुम्लाको खलंगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भन्, ‘अब सुध्रौं, अब चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऔं, मार्ग सुधार गर्दै नयाँ समझदारी गरौं ।’

उनले थपे, ‘आज, हिजो होइन, हामी आफैं बदलिरहेका छौं । परिवर्तन साँच्चै पीडादायी भए पनि सधैं आवश्यक हुन्छ । याद होस्, संसारको पाङ्ग्रा सधैं आफनो गतिमा चलिरहेको हुन्छ । यो संसारमा जे आउँछ, त्यो रहँदैन र जाने कुरा हराउँदैन । अब सुध्रौं, अब चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऔं, मार्ग सुधार गरौं, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ ।’

राष्ट्रको पुरानो गौरवब फर्काउन आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर बस्न देशवासीलाई पूर्वराजा शाहले आह्वान गरेका छन् ।

उनले अगाडि भने, ‘आज देश कता जाँदैछ तपाईंहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरतातिर गइरहेका छौं । आफनै भूगर्भभित्र अथाह धनधान्य छ । तर, खान, काम खोज्न हामी भौतारिइराखेका छौं । कालीकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? त्यसैले म भन्छु । अब हामी राष्ट्रको पुरानो गौरव फर्काउन जुटौं, देश बनाउन उठौं र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं ।’